काठमाडाैँ । नेपाल आउने विदेशी पर्यटकहरुले दैनिक कति रुपैयाँ खर्च गर्ने गर्दछन् भन्ने बहस लामो समयदेखि चलिरहेको छ । विदेशी पर्यटकहरुले नेपालमा दैनिक कति बस्छन् ?, दैनिक कति खर्च गर्छन् ? भन्ने सबैको सबैको उत्सुकताको विषय हो । नेपाल राष्ट्र बैंकले यहि विषयलाई मध्यनजर गर्दै गण्डकी प्रदेशमा आउने पर्यटकहरुमा सर्वेक्षण गरेर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरुको बसाई तथा खर्चको प्रवृतिको विशेष अध्ययन प्रतिवेदनमा नेपालमा विदेशी पर्यटकको औषत बसाईमा आधा भन्दा बढी समय गण्डकी प्रदेशमा नै बस्ने गरेको देखिएको हो । नेपालमा विदेशी पर्यटकको कुल बसाई २२.२३ प्रतिशत रहेकोमा गण्डकी प्रदेशमा ११.९२ प्रतिशत दिन बस्ने गरेका छन् ।
राष्ट्र बैंकले प्याकेज लिएर आउने पर्यटक र स्वत स्र्फुतरुपमा आउने ४०० जना विदेशी पर्यटकहरुको सर्वेक्षण गरेको थियो । जुन सर्वेक्षणमा विदेशी पर्यटकहरुको नेपालमा भ्रमणको उदेश्य, भ्रमणको संख्या, लिङ्गको आधारमा भ्रमण गर्ने प्रतिशत, भ्रमण पार्टनर, औषत बसाई अवधि, महादेश अनुसार औषत बसाई अवधि, बसाईको अनुभव, भ्रमणको तरिका, पर्यटकले भोगेका समस्या र चुनौती, पर्यटकहरुको खर्च प्रवृति, भुक्तानीको माध्यम लगायतका विषयमा सर्वेक्षण गरेको थियो ।
नेपालमा आउने अधिकांश पर्यटक स्वत स्फुर्तरुपमा आउने गरेका छन् । राष्ट्र बैंकले कुल ४०० जनामा गरेको अध्ययनले गण्डकी प्रदेशमा स्वत स्फुर्तरुपमा ७६ प्रतिशत र प्याकेज टुर्समा आउने पर्यटकको अंश २४ प्रतिशत रहेको देखिएको छ । जसमा राष्ट्रिय ट्राभल कम्पनी मार्फत प्याकेज पर्यटकहरुको अंश ५३.१२ प्रतिशत र अन्तर्राष्ट्रिय ट्राभल कम्पनीमार्फत प्याकेज लिने पर्यटकहरुको अंश ४६.८८ प्रतिशत रहेको छ ।
गण्डकी प्रदेशमा प्याकेज लिएर घुम्न आउने पर्यटकहरुले औषतमा दैनिक ११ हजार ८६६.०९ रुपैयाँ (८९.३१ अमेरिकी डलर) खर्च गर्ने गरेका छन् । स्वत स्फुर्तरुपमा घुम्न आउने विदेशी पर्यटकहरुले ७ हजार २१७.३१ रुपैयाँ (५४.३२ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यसरी हेर्दा प्याकेजमा आउने पर्यटकले गर्ने खर्च बढी देखिएको हो ।
नेपाल राष्ट्र बैंकले ३८४ जना पर्यटकहरुको भुमणको प्रकृतिको आधारमा दुई प्रकारका पर्यटकहरु (प्याकेज टुर्स र स्वत स्फुर्त) को खर्चको प्रवृति छुट्टाछुट्टै विशलेषण गरेको थियो । जसमा यस सर्वेक्षणमा समावेश ३८४ पर्यटकहरुको भारित औषत दैनिक खर्च ८ हजार ३५५.२९ रुपैयाँ (६२.८९ अमेरिकी डलर) रहेको पाइएको छ । १६ पर्यटकहरुको प्रतिक्रिया असामान्य रहेकोले उनीहरुलाई आउट लाइनर्सको रुपमा लिई कुल ३८४ जना पर्यटकहरुको प्रतिक्रियालाई शतप्रतिशत मानी विश्लेषण गरेको छ ।
स्वत स्फुर्त नेपालमा विदेशी पर्यटकहरुले दैनिकरुपमा सबैभन्दा बढी खर्च खानपिनमा गरेका छन् । नेपाल बसाईको क्रममा विदेशी पर्यटकहरुले आफ्नो दैनिक खर्चको २८.२२ प्रतिशत खर्च खानपिनमा गर्ने गरेका छन् । खानपिनमा २ हजार ३७ रुपैयाँ खर्च गर्ने गरेका छन् बसाईमा १ हजार ९९१.७७ रुपैयाँ अर्थात २७.६ प्रतिशत खर्च गर्ने गरेको देखिएको छ ।
यातायात खर्चमा १ हजार ५६५.८ रुपैयाँ अर्थात २१.७ प्रतिशत, मनोरञ्जनमा ८८८.०८ रुपैयाँ (१२.३ प्रतिशत), किनमेलमा ४१६.४६ रुपैयाँ (५.७७ प्रतिशत), कर १६१.३५ रुपैयाँ (२.२४ प्रतिशत), धार्मिक खर्च ८०.४१ रुपैयाँ (१.११ प्रतिशत) र अन्य खर्च ७६.४३ रुपैयाँ (१.०६ प्रतिशत) खर्च गर्ने गरेका छन् ।
भ्रमणको क्रममा विदेशी पर्यटकरुले विभिन्न समस्याहरुको सामना गर्ने गरेका छन् । जसमा भाषा, पर्यटन सुचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानी, साँस्कृतिक फरकपन लगायतका समस्या भोग्ने गरेको पाइएको छ । कुनै पनि समस्या नभएको पनि अध्ययनको क्रममा पर्यटकहरुले बताएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । समस्या नभोग्ने पर्यटक २८.४१ प्रतिशत रहेको पाइएको छ ।
अधिकांश पर्यटकहरुले यातायातको समस्या रहेको उल्लेख गरेका छन् । अध्ययन भएको आधारमा २३.११ प्रतिशत पर्यटकहरुले यातायातको समस्या भोगेको बताएका छन् । भुक्तानी समस्या १५.३४ प्रतिशत रहेको छ ।
नेपाल आउने अधिकांश विदेशी पर्यटकहरुले नगदबाटै कारोबार गर्ने गरेका छन् । सर्वेक्षण गरिएका पर्यटकहरुले अधिकांशले नगदबाटै कारोबार गर्ने गरेको बताएका छन् । नगदको माध्यमबाट कारोबार गर्ने पर्यटक ९४.९३ प्रतिशत रहेका छन् ।
भाषागत समस्या १२.३१ प्रतिशत, पर्यटन सुचनाको कमी ६.४४ प्रतिशत, सुरक्षाको समस्या ३.९८ प्रतिशत, साँस्कृति फरकपन ५.४९ प्रतिशत र अन्य ४.९२ प्रतिशतको समस्या रहेको अध्ययन देखाएको छ ।
नेपाल आउने पर्यटकहरुको मुख्य उदेश्य नै साहसिक क्रियाकलाप रहेको छ । राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ४०.१८ प्रतिशत विदेशी पर्यटक साहसिक क्रियाकलापको लागि आउने गरेका छन् भने मनोरञ्जनको लागि २४.०३ प्रतिशत पर्यटक आउने गरेका हुन् ।
धार्मिक कार्यको लागि १०.१८ प्रतिशत, व्यापारिक कार्यको लागि २.९८ प्रतिशत साँस्कृतिक कार्यको लागि १६.८४ प्रतिशत र अन्य कार्यको लागि ५.७९ प्रतिशत रहेको राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्