सार्वजनिक खरिद ऐनलाई सरकारले व्यवस्थित गर्छः भौतिक पूर्वाधारमन्त्री दाहाल


काठमाडाैँ ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री दाहालले सार्वजनिक खरिद नियमावली १३ औं पटक संशोधन भएको बताए ।

विगतमा एउटा कुनै ठूला निर्माण व्यवसायीसँग लभिङ गरेको आधारमा नियमावली संशोधन गरिने गरेकाे उनकाे भनाइ छ। उनले सार्वजनिक खरिद सम्बन्धि कानूनलाई व्यवस्थित गर्न आवश्यक रहेको भन्दै  सार्वजनिक खरिद नियमावलीलाई व्यवस्थित गर्नुपर्ने उल्लेख गरे ।

उनले भौतिक मन्त्रालयले सरकारको पुँजीगत खर्च बढाउनको लागि आयोजनाहरुको प्रारम्भिक अध्ययन गरी समस्यको समाधान खोज्ने बताए ।

आयोजनाहरु कार्यान्वयनमा नीतिगत समस्याहरु रहेको उनकाे भनाइ छ । मन्त्री दाहालले अब ठूला निर्माण व्यवसायी आएर आग्रह गरेको आधारमा नियमावली संशोधन नहुने बताए । सार्वजनिक खरिद सम्बन्धि कानूनलाई व्यवस्थित गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।

पुँजीगत खर्च बढाउन संरचनागत र कर्मचारी तन्त्रमा पनि समस्या रहेको उनले बताए । उनले स्मार्ट सवारी चालक अनुमति छाप्ने साँचो भेन्डरको हातमा भएकाले बार्गेनिङको लागि समय–समयमा सर्भर डाउन गरिदिने काम भएको उल्लेख गरे।

सरकारबाट भुक्तानी नपाएको र सरकारसँग त्यो खालको प्राविधिक नभएका कारणा बार्गेनिङ गरेको उनकाे भनाइ छ । उनले पूर्णरुपमा सरकारको हातमा ल्याएर सवारी साधन छपाईलाई रिफर्म गर्न जरुरी रहेको  बताए ।

सरकारले यातायात नीति अगाडि बढाएको पनि उनकाे भनाइ छ । यातायात नीतिका आधारमा सरकारले ऐनहरु बनाउनुपर्ने र ऐनमा रहेका समस्या सरकारले समाधान गर्दै लैजाने उनले बताए ।

सडकमा देखिएका समस्या प्राथमिकता छुट्याएर समाधान गर्दै जाने भन्दै सरकारले सडक सुरक्षा सम्बिन्ध ऐन पनि बनाउन लागेको उनकाे भनाइ छ । सडक दुर्घटनाका सम्बन्धमा गम्भिर रुपमा सोच्नुपर्ने बेला भएको उनले बताए ।

देशभरका सडकमा रहेका पुलको अवस्थाको बारेमा समिति सदस्यहरुको अध्ययन हेरेर सरकारले अन्तिम निर्णय लिने उनकाे भनाइ छ ।