देशभर ९६ प्रतिशत धान रोपाइँ सम्पन्न, कुन प्रदेशमा कति ?


काठमाडौँ । देशभर ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ । २० साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ९६.३ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्षको यही अवधिमा ८१.८ प्रतिशत भू-भागमा धान रोपाइँ भएको थियो । नेपालमा कुल १४ लाख १ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये २० साउनसम्म १३ लाख ४९ हजार ६०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने १०० प्रतिशत क्षेत्रमा नै धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १९ साउनसम्म सुदूपश्चिममा ९९.२ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ । गत वर्ष धान रोपाइँ हुने क्षेत्रमध्ये १९ साउनसम्म ९६.३ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष २० साउनसम्म ९९.२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा पनि ९६.७ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशमा ९६.१, बाग्मती प्रदेशमा ९४.९, मधेश प्रदेशमा ९५.४ र कोशी प्रदेशमा ९५.० प्रतिशत धान रोपाईँ सम्पन्र भएको मन्त्रालयले जनाएको छ ।