काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रगति विवरण सार्वजनकि गरेको छ ।
विभागले आज पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८०\०८१ को वार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन ३ हजार ६६३ पटक, खाद्य तथा दाना उद्योग अनुगमन ३ हजार २७७ पटक, होटल रेष्टुरेन्ट अनुगमन २ हजार ५८५ पटक, रेपिड रेस्पोन्स अनुगमन ५४३ पटक, हाट बजारर मेला महोत्सव अनुगमन ११६ पटक, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन १ हजार १९ पटक गरी जम्मा ११ हजार २०३ पटक अनुगमन भएक जानकारी दिएको हो ।
उक्त अनुगमनमा म्याद गुज्रिएका, लेबल नभएका बजारहरूमा १ करोड १ लाख ६४ हजार ६ सय रुपैँया बराबरको मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायतका खाद्य तथा पेय पदार्थ जफत गरि नष्ट गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जानकारी दिए ।
विभागका अनुसार उक्त अवधिमा निरीक्षण अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार जम्मा ३ हजार १२५ नमुनाहरू सङ्कलन भएको र ऐन बमोजिम संकलित नमूनाहरू मध्ये खाद्यान्नकाे ८८७ वटा, फल तथा सागपात जन्य पदार्थ ३५९, तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा, मसलाका २९४ वटा, गुलियो पदार्थ १६४ वटा, चिया र कफीका १५५ वटा, प्रशोधित पिउने पानीका ११४ वटा, दुध तथा दुग्ध पदार्थका ७९ वटा, नुनका ४० वटा, मासु तथा मासुजन्य पदार्थ ३ वटा, अन्य खाद्य पदार्थका १२९ वटा र दाना पदार्थका १०९ वटा गरी २ हजार ६५९ वटा नमुनाहरूको परिक्षण गरेकाे हाे ।
साे परिक्षणमा खाद्यान्नकाे ३२ वटा, फल तथा सागपात जन्य पदार्थ १२ वटा, तेल तथा घ्यूजन्य पदार्थ १५ वटा, मसलाका ५ वटा, गुलियो पदार्थ/कन्फेक्सनरीका ९ वटा, चिया/कफीका ९ वटा, प्रशोधित पिउने पानीका १० वटा, दुध तथा दुग्ध पदार्थका ७ वटा र अन्य खाद्य पदार्थका १० वटा गरि जम्मा १०९ वटा (४.१० प्रतिशत ) नमूनाहरूको परिक्षण प्रतिवेदन प्रतिकूल पाइएको प्रवक्ता महर्जनले बताए ।
खाद्य तथा दाना पदार्थ ऐन बमोजिम संकलित नमूनाहरूको विश्लेषण प्रतिवेदन अनुसार प्रतिकूल पाइएका खाद्य तथा दाना पदार्थहरू उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीहरूलाई आर्थिक वर्ष २०८०\८१ मा १७८ वटा मुद्दाहरू सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको विभागले जनाएकाे छ ।
विभागले बजारमा खुला रूपमा पाइने रंगीन कटन क्यान्डीमा अखाद्य रङ भेटिएको भन्दै गत वर्ष कारबाही समेत गरेको थियो ।खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याएको भन्दै कारबाही गरेको विभागका प्रवक्ता महर्जनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ गत श्रावण १९ गते बाट लागू भएको बताउँदै सबै सरोकारवालाहरूकाे आवश्यक सहयोग र सहकार्यकाे अपेक्षा राखेकाे बताइन्।
प्रतिक्रिया दिनुहोस्