सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछः सभापति थापा


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शुक्रवार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन् । उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताए । उनले कारागारमा रहेकाहरूलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए ।

उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताए । उनले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए ।

उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरूसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए । उनले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रूपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए ।

उनले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए । उनले गोर्खा मिडिया प्रा.लि.का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए ।