नेपाल ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण र उपयोगमा ध्यान दिन मन्त्री अधिकारीको निर्देशन


काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षकोरुपमा पहिलो पटक नेपाल ट्रष्टको कार्यालय कमलादीमा पुगेर मन्त्री अधिकारीले मातहतका निकायबाट बिफ्रिङ् सुनेपछि निर्देशन दिएका हुन् ।

नेपाल ट्रष्टसंग काठमाडौंलगायत देशका बिभिन्न भुभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, व्यावसायिक भवनहरू, बिभिन्न निकायमा सेयर रहेको उल्लेख गदैं मन्त्री अधिकारीले भएका सम्पत्तीमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरूको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए ।

मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार साहलाई हालसम्मको प्रगति बिवरण र आउने आर्थिक बर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरूको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन निर्देशन समेत दिए ।

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरे अनुसार नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो ।