पटक–पटकका हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखियोः सांसद गौतम


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले हवाई दुर्घनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाई गर्न नसकेको बताएकी हुन् ।

उनले नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन् । उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन् ।

उनले सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको बताइन् । यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताइन् ।

उनले नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु,आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन् । गाैतमले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्न सक्नुपर्ने बताइन् ।