लुम्बिनी प्रदेशमा कोटेशन प्रणालीको अन्त्य हुन्छः मुख्यमन्त्री आचार्य


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले कोटेशन प्रणालीलाई पूर्णरुपमा अन्त्य गर्ने बताएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले भने, “कोटेशन प्रणाली नरोकिँदासम्म प्रदेशले परिणाम दिन सकिँदैन भन्ने सरकारको मान्यता रहेको छ । यसकारण यसै आर्थिक वर्षदेखि कोटेशन प्रणाली पूर्णरुपमा अन्त्य हुन्छ ।”

प्रतिस्पर्धा बिना कुनै पनि योजना अगाडि बढाउन नहुने बताउँदै मुख्यमन्त्री आचार्यले हरेक योजनालाई टेण्डर प्रणालीबाट अगाडि बढाउन निर्देशन दिए । “हरेक योजनालाई प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढाउनुपर्दछ । पाँच लाख, १० लाख, १५ लाख र २० लाखका टुक्रे योजनालाई झण्झट नमानेर टेण्डर प्रक्रियाबाट अगाडि बढाउनुहोस्”, कर्मचारीलाई निर्देशन दिँदै भने, “टुक्रे योजनालाई जोडेर भए पनि प्रतिस्पर्धात्मक प्रणालीबाट योजना सम्पन्न गर्नुहोस् । परिणाम निस्कने गरी काम गर्नुहोस् ।”

लगानीको प्रतिफल निस्कने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री आचार्यले विकाससँग जनतालाई जोड्नुपर्ने बताए । प्रदेश सरकारका कुनै योजनाले आफूहरुलाई गिज्याइरहेको भन्दै उनले टुक्रे र छरपष्ट योजनाले प्रदेशको विकास हुन नसक्ने हुँदा आगामी वर्षदेखि टुक्रे योजनामा रोक लगाउने दाबी गरे ।

सरकारको योजना चयन प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताउँदै उनले सरकारले आगामी वर्षदेखि योजना चयन प्रक्रियालाई परिवर्तन गर्ने तयारी गरिरहेको जानकारी दिए । प्रदेशको सडक गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको पनि उनले जनाए।

“प्रदेश सरकारले सडक गुरुयोजना निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । अब तपाईँहरुले जिल्ला समन्वय समिति, पालिका प्रमुख र राजनीतिक दलसँग गुरुयोजनाका बारेमा बृहत छलफल गर्नुहोस्”, आचार्यले भने, “यही गुरुयोजना अनुसार नै प्रदेशले बजेट विनियोजन गर्ने तयारी गरेको बारे जानकारी दिनुहोस् । यो काम एक डेढ महिनामै सम्पन्न गर्नतर्फ लाग्नुहोस् ।”

प्रदेशको सडक गुरुयोजना नहुँदा सरकारले कुनै पनि उपलब्धी हासिल गर्न नसकेको बताउँदै उनले भने, “गुरुयोजना बिनाको लगानी खेर गयो । हामीले पहुँच मार्ग बनाउने भन्यौं । ३३ वटा पहुँच मार्गबाट लगानी सुरु गरेका थियौं । सबै सडकको कालोपत्रेसम्म गर्ने भनेका थियौं । हालसम्म मुस्किलले २र४ वटा सडक मात्रै निर्माण सम्पन्न भएका छन् ।”

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले व्यवस्थित योजना बनाएर मन्त्रालय अगाडि बढ्ने बताए । प्रदेश सरकारको सबैभन्दा ठूलो परिमाणको बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मामा प्रदेशको विकास र समृद्धि जोडिएकाले गुणस्तरिय निर्माणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिए ।

कर्मचारीहरुको कार्यशैलीले विकासमा प्रभाव पार्ने हुँदा जनमैत्री भएर काम गर्न उनको निर्देशन छ।