काठमाडौँ । नाडा अटो शो २०२४ मा ७ ओटा बैंक तथा वित्तीय संस्थाले समेत भाग लिने भएका छन् ।
जसमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले भाग लिने आयोजकले जनाएको छ ।
आगामी भाद्र ११ देखि १६ गतेसम्म काठमाडौँकाे भृकुटीमण्डमा हुने नाडा अटो शोमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिने भएको छ ।
यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरूको ३३ कम्पनीहरू रहने छन् । मेलामा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने आयाेजकले जनाएकाे छ ।
टाटा.ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ । अतिरिक्त आकर्षणको रूपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिद्वारा प्रायोजित गरिएको छ।
नाडा अटो शोको यस संस्करण एउटा प्रदर्शनी मात्र नभई नवीनता, लचीलापन र नेपाली अटोमोबाइल उद्योगको दिगो आत्माको उत्सव भएको र यसमा सबैलाई स्वागत गर्न तत्पर रहेको नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले बताए ।
प्रतिक्रिया दिनुहोस्