नयाँ कम्पनीहरूले पूर्वधार क्षेत्रमा तयारी गरेर मात्र नयाँ ब्रान्ड भित्र्याउनुपर्छ: राजनबाबु श्रेष्ठ [अन्तर्वार्ता]


लामो समयदेखि अटोमोबाइल क्षेत्रमा रहेका राजनबाबु श्रेष्ठ गएको दुई दशकदेखि सिप्रदी ट्रेडिङमा छन् । उनी छ वर्षयता सिप्रदीमा सीईओका रूपमा कार्यरत छन्। अटोमोबाइल व्यवसायीहरूको साझा संस्था नाडा आटोमोबाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष श्रेष्ठसँग नेपालको अटो क्षेत्रका आयामहरू र आशन्न नाडा अटो शो लगायतका विषयमा केन्द्रीत रहेर टक्सार ले गरेको कुराकानीः

कोभिड १९ र आर्थिक मन्दीले हरेक क्षेत्रको वित्तीय स्थिति खस्किएको छ । जसको असर सवारी साधनको बिक्री वितरणमा समेत परेको छ । यो परिस्थितिमा सिप्रदीकाे बजार कस्तोे छ ?

राज्यका हरेक क्षेत्रमा समस्या पर्दा अटोमोबाइल बजारमा पनि समस्या उस्तै छ । सिप्रदीको हकमा कुरा गर्दा जब बजारमा ट्रक र टिप्परको माग कम हुँदै जान्छ त्यसले गर्दा हामीलाई थोरै भए पनि समस्या हुन्छ । आजको दिनमा सामान बोक्ने सवारी साधनको बजार यसरी खस्कियो कि अहिले यस्ता सवारी साधनको माग नै छैन भने पनि हुन्छ ।

कोभिड १९ को बेलामा प्यासेन्जर भेहिकल मिनी र माइक्रो बसमा मानिसहरू त्यति उत्सुक देखिएका थिएन तर त्यसमा अहिले थोरै भए पनि सुधार आएको छ । त्यस बाहेक अहिले अन्यमा यति नराम्रो अवस्थामा छ कि त्यसले गर्दा समस्या आएको छ ।
कमर्सियल भेहिकलको बिक्री सिप्रदीको मात्रा नभएको होइन, अन्य कम्पनीहरूको स्थिति पनि त्यस्तै छ । आजको दिनमा कमर्सियल सवारी आयातकर्ताहरू चल्नको लागि मिहिनेत गरेका छौँ ।

आर्थिक मन्दी र कोभिड अघि टाटाले वर्षभरि १३ हजारभन्दा बढी गाडी बिक्री गरेको थियो तर आज महिनाको दुई सय ओटा सवारी साधन बेच्न पनि समस्या भएको छ । त्यसले गर्दा हाम्रा कर्मचारीलाई समेत काम पुगेको छैन । त्यो भन्दैमा हामीले खर्च घटाउन विगतदेखि सिप्रदीलाई यहाँसम्म ल्याउनको लागि अहोत्र खट्ने कर्मचारीलाई निकाल्ने पनि कुरा भएन । त्यसले गर्दा हामीलाई यति समस्या परेको छ कि आगामी दिनमा कम्पनीलाई कसरी दिगो रूपमा ल्यौजाने भन्ने चुनौतीको विषय रहेको छ ।

आजको दिनमा आर्थिक मन्दीले सबैक्षेत्र धरासायी भएर उधारो बिक्री वितरण गर्नुपर्ने बाध्यता छ सवारी बिक्रीको हकमा भने यो कस्तो रहेको छ ?

सवारी बिक्रीको हकमा अहिले उधारो दिने क्रम विस्तारै घट्दै गएको छ । पहिला यो क्षेत्रमा यो प्रवृत्ति धेरै नै थियो । देशमा पुँजीगत खर्च लक्ष्य अनुसार हुन नसकेपछि त्यसले गर्दा पूर्वधार क्षेत्रको काम सहज रूपमा अघि नगएपछि त्यो पैसा निर्माण व्यावसायीकोमा जान पाएन र त्यसलाई चलायमान बनाउने सकेन् । त्यसको असर सबै क्षेत्रमा परेको छ । त्यसपछि अहिले उधारोमा सामान दिन हुँदैन किनभने त्यसले गर्दा भोलि आफैँलाई समस्या पर्छ भन्ने व्यवसायीहरूले बुझदै गए । अहिले व्यापारमा सबैभन्दा बढी समस्या भनेको दिगो ‘वर्किङ क्यापिटल म्यानेजमेन्ट’ हो । त्यो चिजलाई नहेरी कम्पनीलाई अघि बढाउने स्थिती नभएको हुनाले हामीले अहिले त उधारोमा सामान दिने काम गरेका छैनौँ ।

पछिल्लो सयम नेपाली बजारमा नयाँ नयाँ चिनियाँ विद्युतीय ब्राण्डहरूको हालिमुहाली बढ्दै गएको छ । नेपालमा परम्परागत रूपमा स्थापित हुँदै आएका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नको लागि सिप्रदी सक्षम छ ?

हामीले त्यस्ता ब्राण्डहरूलाई प्रतिस्पर्धी पार्टनर भन्ने गरेका छौँ । अरू ब्राण्डहरू प्रतिस्पर्धा गर्न आएनन् भने हामी पनि अल्छी हुन्छौँ । हामीलाई झक्झकाउनको लागि त्यस्ता चिज आउन जरुरी छ जसले गर्दा हामीले नयाँ नयाँ ब्राण्डहरू ल्याउनुपर्छ । तबमात्र हामी सधैँ अघि हुन सक्छाैँ । विद्युतीय सवारी प्रति सुरुवात समयदेखि नै हामी निकै फरक तरिकाले अघि थियौँ हामीले सवारीमात्र बेच्ने भन्ने सोच कहिले पनि गराएनौँ । गाडीमात्रा बेचेर हामी सफल हुन्छौँ भन्ने सोच पनि थिएन् । त्यसैले हामीले हाम्रा ग्राहकहरूलाई गाडी बेचेपछि कुनै पनि खालको समस्या नहोस् भन्ने हेतुका साथ अघि बढेका छौँ ।

पछिल्लो समय नयाँ नयाँ ब्राण्डका सवारी साधनहरू आयात भएका छन् । उनीहरूले कम्तीमा पनि पूर्वाधार क्षेत्रमा पूर्वतयारी गरेर मात्रा आयात गर्नुपर्छ । जसमा चार्जिङ स्टेशन भनेको सबैभन्दा ठूलो विषय हो । त्यसले गर्दा सबै ठाउँमा वर्कसप हुनुपर्यो त्यो खालको जनशक्ति उपलब्ध गराउन पर्‍यो । अर्को भनेको ब्याट्रीको व्यवस्थापनको आवश्यक पनि त्यतिकै चाहियो । हाम्रो सोच भनेको हाम्रा ग्राहकले हाम्रो गाडी चढेपछि त्यसबाट जुन अनुभव पाउनुहुन्छ त्यसमा उनीहरू सन्तुष्ट हुनुपर्छ । हामी यसलाई प्रभावकारी बनाउँदै जाने पनि सोचमा छौँ ।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने हेतुले कुर छुटको नीति लियो तर राजस्वमा भारी गिरावाट आएको छ । के तपाईँको रायमा विद्युतीय गाडीमा कर छुट दिने नीति ठिक हो ?

विद्युतीय सवारीलाई सधैँभरि कर छुट दिनुपर्छ भन्ने होइन् । मुख्य कुरा के छ भने सबैभन्दा पहिला विद्युतीय सवारीमा मानिसलाई बानी लगाउनु पर्छ । जुन अहिले सुरू भएको छ । केही समय पछि जुन छुटको नीति छ त्यसलाई विस्तारै बढाउँदै जान सकिन्छ । त्यो भनेको एकैपटक गर्ने पनि होइन । प्रत्येक वर्ष ५ प्रतिशत वा १० प्रतिशत बढाउँदै जाँदा त्यो खालको समस्या पनि हुदैँन । हाम्रो भनाइ के हो भने प्यासेन्जर भेहिकलको लागि कर एकदमै धेरै भयो । यो ठिक होइन भन्ने हो । अहिले गाडी भनेको आवश्यकताको विषय हो ।

आजभन्दा १५ वर्षअघि यो एउटा विलासिताको वस्तु थियो होला तर अहिले सबै मान्छेलाई सवारी साधन चाहिएको छ । गाडी जरुरत किन छ भने नेपालको यातायात क्षेत्र र सार्वजनिक यातयातको अवस्था ठिक नभएकाले मान्छेलाई आफ्नो कामको लागि एउटा गाडी चाहिन्छ । त्यसले गर्दा अहिलेको अवस्थामा सरकारले लिएको कर नीतिलाई परिवर्तन गर्नुपर्छ । हाम्रो आयातमुखी अर्थतन्त्र हो त्यो घटाउने वित्तिकै नेपालमा सवारीको संख्या त बढ्छ । त्यसले सरकारको राजस्वमा वृद्धिमा समेत सहयोग गर्छ । तर सरकारको नीति स्थिर नहुँदा व्यवसायीहरूले समस्या भोग्नु परेको छ ।

मुख्य कुरा त हामीले संसारमा यसको अवस्था कस्तो छ त्यसलाई प्रोत्साहन कसरी गर्ने भनेर हेर्नुपर्छ । आजको दिनमा विश्वका अधिकांश देशहरू ग्रिन टेक्नोलोजिमा गएका छन् त्यसले गर्दा हामीलाई पनि नगएसम्म काम छैन् । यदि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दा हाम्रोमा उत्पादन हुने विद्युतको खपतदेखि पेट्रोलियम पर्दाथको आयात समेत रोकिने अवस्था हुने थियो । त्यसले अब हामी विद्युतीय सवारी नगई विकल्प छैन् ।

तपाइँले अघि पनि भन्नु भयो सिप्रदीको ‘आफ्टर सेल्स सर्भिस’ का कारण उपभोक्ताको रोजाईँ हामी माथि छ भनेर तर अघिल्लो वर्षको चाडपर्वमा टाटाका अधिकांश गाडीहरू चार्ज गर्नको लागि लाइन बस्नु परेको अवस्था हामीले देखेयौँ । यसपटकको चाडपर्व पनि नजिकै आएको छ यसमा कम्पनीको तयारी के छ ?

हामीले अघिल्लो पटकको चाडपर्वमा निकै राम्रो अध्ययन गर्ने मौका पायौँ । किनभने हामीले त्यो किसिम्मको समस्या हुन्छ भन्ने सोचेका पनि थिएनौँ । प्राय हामीले हाम्रो चार्जरहरूको प्रयोगलाई हेरेका हुन्छौँ । सामान्य दिनहरूमा हाम्रा चार्जिङ स्टेशनहरूमा ३८ प्रतिशतभन्दा बढी चर्जिङ भएको देखिएन् । त्यसले गर्दा हामीले दशैँमा पनि १०० प्रतिशतभन्दा बढी नहोला भन्ने भयो तर त्यसमा हामीले समस्या भोग्नु पर्‍यो। त्यो समस्यालाई मध्यनजर गरेर थप प्रभावकारी बनाउनको लागि हामीले गाडीको आवतजावत कुन कुन ठाउँमा हुन्छ ? त्यो ठाउँमा बढी चार्जर थपेर भएका चार्जर पनि थप प्रभावकारी बनाएका छौँ ।

जसले गर्दा अब आउने दशैंमा केही पनि समस्या हुदैन् । अर्को जुन चार्जिङ स्टेशनलाई कसरी प्रभावकारी बनाउने र एउटै चार्जरबाट १५ वटाले गर्नेमा ३२ वटाले गर्ने मिलाउने भनेर त्यो तरिकाले अघि बढाएका छौँ । त्यसले गर्दा त्यो समस्या हुँदैन भने विश्वास छ ।

सिप्रदी र यात्रीको सहकार्यमा दुईपांग्रे सवारी सधान उत्पादन गर्न सम्झौता गरेर काम पनि थालेकाे भन्ने छ । नेपाली बजारमा दुई कम्पनीले उत्पादन गरेको सवारी कहिले देख्न पाइन्छ ?

हामीले यात्रीसँग सहकार्य गरेर दुई पांग्रे सवारीको उत्पादन गर्न लागेका छौँ । दुई पांग्रे सवारीमा नेपालको पूर्वाधार अनुसार बाहिरबाट ल्याएको दुईपांग्रेले ग्राहकहरू सन्तुष्ट नभएको हामीले पाएका छौँ । त्यसले गर्दा हामीले नेपालको लागि उपयुक्त हुने यात्री जस्तो अन्य कोही पनि नभएकाले हामीलाई यदि यात्रीसँग सहकार्य गर्‍यौँ भने अहिले हामीले त्यो प्रोडक्ट बनाउने तयारीमा छौँ । त्यसले गर्दा हामीले पार्टस् ल्याएर जोड्ने भन्दा पनि नेपालीले चाहेको कुरालाई बनाउन लगोका हौँ । त्यसले गर्दा त्यो प्रोडक्ट बनाउनको लागि काम पनि सुरू भएको छ । छिटै नेपाली बजारमा हामीले देख्न सकिन्छ ।

केही समय अघि राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति अन्य निजी क्षेत्र केही हदसम्म भएपनि सन्तुष्ट भए तर नाडा मौद्रिक नीतिप्रति असन्तुष्ट भयो । सवारी बिक्री सुधारका लागि कस्तो नीतिको आवश्यकता थियो ?

सरकारले जुन नीति लिएको छ त्यो सोचेर नै गरेको होला । त्यसले गर्दा त्यो नीति राम्रो र नराम्रो भन्दा पनि राज्यलाई सबैभन्दा बढी राजस्व प्रदान गर्ने अटो क्षेत्रलाई राजस्व आउने वातावरण बनाउनु पर्ने थियो । त्यो भनेको गाडी आयात गर्ने सहज वातावरण बनाउँदा नै गाडी बिक्री हुन्छ र राजस्व बढ्छ भन्ने हाम्रो माग हो । हामीले पहिलादेखि नै राखेको माग भनेको अटो क्षेत्रलाई लचिलो बनाउनुपर्छ भन्ने थियो । त्यो विषयमा अहिले समेटिएन । आशा गरौँ अगामी दिनमा यसलाई समेटिन्छ होला ।

सवारी साधनको कुम्भ मेला नाडा अटो शो २०२४ को नजिकमा छौँ । यस वर्षको नाडा अटो अन्य वर्षको तुलनामा कस्तो हुन्छ ?

यसपटकको नाडा अटो शो इभीमय नै हुने देखिन्छ । गत वर्षहरुमा भन्दा यसपटक सबै ब्राण्डहरुले भाग लिनको तयारी अवस्थामा हुनुहुन्छ भने टाटाले पनि आफ्ना ब्राण्डहरूयसपटक मेलामा अवस्य राख्ने छ र अघिल्लो वर्षजस्तै यसपटक पनि अवलोकनकर्ताहरूले विश्वास गर्नुहुन्छ भन्ने अपेक्षा रहेको छ ।