मेलम्ची खानेपानी भरपर्दो छैन’रेन वाटर होर्भेटिङ’सुरू गरौंः ईश्वर पोखरेल


काठमाडाैँ । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गरेका छन्।

शुक्रवार काठमाडौँमा आयोजित ‘काठमाडाैँ शहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रस्ताव समेत गरे।

मेलम्चीको पानी ल्याउने कुराले काठमाडौँवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उनले अव त्यसमा भर परेर बस्न नसकिने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याए ।

भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौँ उपत्यकाको विकास नहुने उनको जिकिर थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौं उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताए ।