सरकारले वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउनु पर्छः अध्यक्ष भण्डारी


काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम ऐनलाई समयसापेक्ष र व्यवसायीमैत्री बनाउनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अध्यक्ष भण्डारीले नेपालको श्रम ऐन पुरानो भएको भन्दै सरकारले श्रम ऐन संशोधन गरी वर्तमान समय सापेक्ष बनाउन माग गरे।

उनले ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको चर्चा गर्दै वैदेशिक रोजगार ऐन श्रमिक र व्यवासायीमैत्री हुनुपर्ने उल्लेख गरे।

वैदेशिक रोजगार ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको रहेको भन्दै तत्काल संशोधन गर्न माग भण्डारीको छ।

उनले भने, “वैदेशिक रोजगार ऐन २०६४मा बनायौँ । ऐन लामो समयसम्म परिमार्जन नगर्दा व्यवसायीहरुलाई समस्या परेको छ । वैदेशिक रोजगार ऐन श्रमिक र व्यवासायीमैत्री हुनुपर्छ । यो ऐन व्यवसायलाई नियन्त्रण गर्ने किसिमको छ ।”

उनले नेपालबाट खाडी मुलुकमा महिलाहरु गइरहेको भन्दै अब सरकारले संस्थागत रुपमा खोल्ने वा पूर्णरुपमा बन्द गर्न माग गरेका छन्।

सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिवन्ध गरेपनि ५० हजार बढी सख्यामा महिलाहरु र तेस्रो मुलुकबाट वा भिजिट भिसामा गएको जनाए।

अध्यक्ष भण्डारीले सरकारले त्यसको विकल्प खोज्न आवश्यक रहेको भन्दै संस्थागत रुपमा पठाउन दिन आवश्यक रहेको बताए।

सरकारले व्यवसायीहरुलाई शुल्क निर्धारण गर्न समेत उनको सुझाव तथा माग छ । सरकारले अनिवार्य मागपत्र प्रमाणिकरण तत्काल गर्नु आवश्यक रहेको भनाइ उनको छ।

—न्युज एजेन्सी नेपाल