अब कुनैपनि उद्योगको बिजुली काटिँदैन, उद्योगीलाई पहिलो सहुलयित विद्युतबाटै दिन्छौँः मन्त्री भण्डारी


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ट्रंक र डेडिकेटेड लाइनको वक्यौताको विवादले कुनैपनि उद्योगको बिजुली नकाटिने बबताएका छन्।

शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले उद्योगको लाइन काटियो भनेर सरकारको ढोका ढक्ढक्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

सरकारले समस्या समाधान समयमा गर्न नसक्ने अनि उद्योगीहरुको लाइन काटेर उद्योगधन्दा बन्द गर्नेकुरा राम्रो नहुने उनको भनाइ छ।

उद्योग उत्पादनको बजार नहुनु, बैंकको ब्याजदरको समस्या झेलिरहनु परेको समयमा सरकारले पनि लाइन काटेर झनै समस्या थुपार्नु नहुने भनाइ उनको छ ।

भण्डारीले उत्पादनको खपत आन्तरिक रुपमा बढाउन र मात्रै निर्यातमा लाग्न पनि आग्रह गरे।

नेपालका उद्योगीहरुलाई सरकारले सेवा प्रवाह गर्ने, सहुलियत प्रदान गर्ने पहिलो कुरा विद्युतबाट हुने भनाइ उनको छ ।

आफूहरु अध्यारोमा बसेर भएपनि उद्योगधन्दा सञ्चालन गर्ने, उत्पादन र रोजगारी बढाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको भण्डारीको भनाइ छ ।

मन्त्री भण्डारी भने, “अब सरकारका ढोका धेरै ढक्ढक्याउनु पर्दैन । तपाईंहरुको अहिले पनि सिमेन्ट उत्पादक संघ सरकारले अस्ति निर्णय गरिसकेको छ । ट्रंक र डेडिकेटेड लाइन अब तपाईंहरुको काटिने छैन । त्यसमा तपाईंहरु ढुक्क हुनुस् । सबै उद्योगीहरुलाई भन्न चाहन्छु, अब पहिलो हाम्रो उत्पादनको खपत आन्तरिक रुपमा हुन्छ । त्यसपछि हामीले निर्यात गर्नेछौँ ।”

मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरुका समस्या समयमै सम्बोधन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए।

—न्युज एजेन्सी नेपाल