सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युतको पावर हाउसमा क्षति पुर्‍याएपछि सो गाउँमा विद्युत् टेलिफोन लगायतका सेवा अवरुद्ध छ ।

बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षती पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकोले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सुचारु गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमा तत्काल फोन गरी वैकल्पिक ऊर्जा मार्फत तत्काल सेवा सुचारु गर्न निर्देशन दिएका छन् ।