विराटनगरमा मापदण्ड विपरित घर बनाउने क्रम बढ्यो


काठमाडाैँ । विराटनगरमा मापदण्ड विपरितका घरहरू बनाउने काम भइरहेका छन् ।भवन निर्माण मापदण्ड विपरित लिफ्टिङ प्रविधि (पक्की घरलाई माथि उचाल्ने र एक ठाउँबाट अर्को ठाउँमा सार्ने) को प्रयोग गरेर घरहरू बनाउने काम भइरहेका हुन् ।

सडक नजिक पर्ने र डुबान र बाढीको समस्या भएका घरहरू सो प्रविधिको प्रयोगबाट सार्ने भवन निर्माण मापदण्ड विपरित काम भइरहे पनि त्यसको सुरक्षाका विषयमा भने गम्भिर आशंका उत्पन्न भइरहेका छन् । राष्ट्रिय भवन आचारसंहिता, भवन ऐन र सम्बन्धित मन्त्रालयले जारी गरेको निर्देशिकामा पनि नयाँ अभ्यासका रूपमा देखिएको ‘लिफ्टिङ–सिफ्टिङ’ प्रविधिका बारेमा कुनै मापदण्ड नभएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बताए ।

उनले जमिनमुनि खाल्डो खनेर बसालिएको जगबाट घरलाई मुक्त बनाउँदा असुरक्षाका प्रश्न खडा हुनु स्वभाविक रहेको बताए । महानगरपालिकाले त्यसबारेमा महानगरका घरनक्सा र योजना महाशाखाका प्राविधिकसँग समन्वय गरेर छलफल भइरहेको बताएको छ ।

फलामका जग प्रयोग गरी भारतीय एलबिएल हाउस लिफ्टिङ कम्पनीले विराटनगरका केही घर तथा कार्यालय सार्ने काम गरिरहेको छ । घर भत्काएर पुनः नयाँ बनाउँदा धेरै नै खर्च गर्नुपर्ने भएका कारण लिफ्टिङ विधि अपनाउँदा कम खर्चमै घर सार्न मिल्छ । घरको उचाई बढाउन मिल्ने र घर पनि निश्चित क्षेत्रसम्म सार्न सकिने विधिबाट घर उचाल्न र सार्नका लागि न्युनतम दुईदेखि तीन महिना लाग्छ ।

घर उठाउँदा ठूलाखाले मेसिनको प्रयोग गरिएको छैन । सामान्य फलामको जग प्रयोग गरेर घर उठाउँदा जोखिम नहुने तर्क कम्पनीको छ । कम्पनीका इन्जिनियर लालचन्द गुप्ता घर उठाउँदा वा सार्दैमा कमजोर नहुने बताउँदै भविष्यमा पनि सुरक्षित नै हुने दाबी गरेका छन् । नयाँ जग निर्माण गरेर जगमाथि नै घर राखिने भएका कारण भूकम्प प्रतिरोधात्मक अनि सुरक्षित हुने उनको दाबी छ ।

हाउस लिफ्टिङका लागि प्राविधिकले घरको बेसको टाइप बिमको संरचना काटेर गाडी उठाउन प्रयोग गर्ने जस्तो ‘जग’ लगाएर ब्यालेन्स मिलाउने गरेका छन् । घरको बेसमेन्ट वरिपरि जग लगाएपछि प्राविधिकले पालैपालो जग घुमाएर माथि उठाउँछन् र खाली भएको स्थानमा कंक्रिट र इँटाको संरचना बनाउँछन् । नेपालका विराटनगर, जनकपुर, काठमाडौँ, वीरगञ्जलगायत भारतका सहरमा डेढ सयभन्दा बढी घर उठाउने र सार्ने काम गरेको कम्पनीले जनाएको छ ।

औद्योगिक नगरी विराटनगरको बजार क्षेत्रमा अधिकांश पुराना घर सडक सतहभन्दा तल छन् । जसले गर्दा वर्षामा आकासे पानीले निकास नपाउँदा महानगरभित्रका पुराना घरको भुइँतला डुब्ने गरेका छन् । त्यसबाहेक कतिपय घर बेला–बेलामा हुने सडक बिस्तारबाट प्रभावित बनेका पनि छन् ।

त्यस्तो परिस्थितिमा लिफ्टिङ प्रविधिबाट घर उठाउने वा सार्दा अनावश्यक झन्झटबाट मुक्त हुन सकिएला भूकम्प–हावाहुरीलगायतबाट कत्तिको सुरक्षित हुन्छ भन्ने प्रश्न चौतर्फी छ । सँगसँगै महानगरपालिका अनि सरोकारवाला निकायसँग यसको मापदण्ड के छ भन्नेतिर सबैको चासो छ ।