काठमाडौँ । सहकारी ठगीसँग सम्बन्धित विषय छानबिन गर्न २०८१ जेठ १५ गते बसेको प्रतिनिधिसभा बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वकाे विशेष समितिले साेधपुछदेखि प्रतिवेदन लेख्ने कार्यलाई तीव्रता दिएकाे छ ।
समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउने छ । सोही अनुरुप समितिले त्यै तरिकाले काम गर्दै आएको छ ।
गठित कार्यदलले ४ बुँदे कार्यादेश तय गरेको थियो । कार्यक्षेत्रको बुँदाहरूमा ‘सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने’ उल्लेख छ ।
त्यस्तै समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढंगले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने, बचतकर्ताको बचत सुरक्षा र बचत फिर्ता अविलम्ब गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरि सहकारी संस्था सदस्य (शेयरधनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुऱ्याएको व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने जस्ता विषयहरू समेटिएका छन् ।
समितिले साउन २५ गतेबाट सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार रहेका सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी र सञ्चालकहरूसँग छलफल सुरू गरेको थियो । साेही अनुरुप सभापति थापाकाे नेतृत्वले समस्यामा परेका सहकारीका सञ्चालकदेखि संस्थाका रकम अपचलन गर्ने राजनीतिक दलका सदस्य र सर्वसाधरणसँग बयान लिइसकेका छन् भने केही व्यक्तिकाे बयान लिने तयारीमा समिति रहेकाे छ ।
हालसम्म समितिले स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर सेभिङ एन्ड क्रेडिट, न्यु प्लाजा, कुबेर सेभिङ एन्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बा,पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एन्ड कोअपरेटिभका पूर्व अध्यक्ष सीबी लामा भनिने चन्द्रबहादुर तामाङकाे बयार लिइएकाे छ ।
गोरखा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष डम्बरबहादुर तामाङ (डिबी बमजन) र इमानसिंह राई, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारी, गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका रामबहादुर गौतम, तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा (जेलबाट ल्याएर), शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य, ऋणी तथा केदारनाथ शर्माकी श्रीमती गीता शर्मासँग बयान लिएकाे छ ।
त्यस्तै सुमेरु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष हेमराज दाहाल, हालका अध्यक्ष कृष्णप्रसाद कँडेल,आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती, कान्तिपुर सेभिङस एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार गुरुङ, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष शङ्कर कार्की र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठ लगायत अन्य विभिन्न संस्थाहरूसँग बयान लिएकाे समितिले जनाएकाे छ ।
समितिले भदौ ७ गते बस्ने बैठकमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी रहेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिएका छन्।
बयान लिने काम अन्तिम चरणमा पुगेसँगै समितिले प्रतिवेदन लेखनको काम पनि तीव्र पारेको छ। गत जेठ १५ गते गठन भएको समितिले सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गरी प्रतिवेदन दिन ३ महिनाको समय पाएको छ।
प्रतिक्रिया दिनुहोस्