प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर


काठमाडाैँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका छन् ।

मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरूले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताएका हुन् ।

उनले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरूको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको दाबी गरे ।

उनले प्रहरी कर्मचारीहरूका परिवारका सदस्यहरूले प्राप्त गरेको विविध कल्याणकारी सुविधा नेपाल प्रहरीका सकल दर्जाहरुको उच्च मनोबलको रूपमा रहेको पनि बताए ।

उनले प्रहरी श्रीमती संघले गरेका कामहरुका कारण नेपाल प्रहरीको छवि अभिवृद्धि भएको पनि बताए ।