सेयरबजारमा बुलिस ट्रेण्ड सुरु भएको हो ? यस्ताे छ लगानीकर्ताको मनोविज्ञान


काठमाडौं । सेयर मापक सूचक नेप्से परिसूचक २०७८ साल भदौ २ गते ३२ सय अंकको उच्चतम विन्दु पुगेसँगै नयाँ किर्तिमान कायम भयो ।

उक्त समयमा बजारले किर्निमानी उचाई छुनुमा लकडाउन र सेयरको अनलाइन कारोबार नै मुख्य मानियाे।

किर्तिमानी ३२ सय अंकमा पुगेको नेप्से परिसूचक एक २०७९ असोज ९ गते १८ सय १५ अंकमा झर्यो । एक वर्षको अवधिमै बजार ११ सय अंकले घट्यो ।

एक्कासी सेयरबजारमा ठुलो गिरावट आउनुको कारण नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाएको सीमा र बैंकहरुले बढाएको व्याजदर नै मुख्य मुख्य रहेको लगानीकर्ताहरु बताउँछन् ।

करिब ३ वर्ष १८ सय देखि २२ सयको हाराहारीमा बजार रह्यो । २०८१ असार १७ गते २०३७.०९मा रहेको नेप्से परिसूचक साउन ३१ गते ३०००.८१ अंकमा पुगेको छ । करिब डेढ महिनाको अवधिमा ३४ दिन कारोबार हुँदा नेप्से परिसूचक ९६३.७२ अंकले बढेको छ ।

सेयर बजारमा कारोबार रकमले पनि दिन दिनै नयाँ किर्तिमान कायम गरेको छ । नेप्सेको तथ्यांकअनुसार ३ वर्ष अगाडी सबैभन्दा धेरै २२ अर्ब रुपैयाँ पुगेको थियो भने ।

अहिले हरेक दिन किर्तिमान कायम राख्दै साउन ३१ गते बिहीबार पनि २९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढिको कारोबारसँगै नयाँ किर्तिमान कायम भयो ।

सेयरबजारमा यसरी छोटो समयमा ठुलो छलाङ आउनु स्वभाविक हो कि होइन भन्ने विषयमा बहस समेत हुन थालेको छ ।

पछिल्लो समय कारोबार रकम र सेयर बजार परिसूचक नेप्सेले हरेक दिन नयाँ–नयाँ रेकर्ड बनाइरहेका छन् । आजभन्दा एक महिनाअघिको तुलना गर्दा देशको अर्थतन्त्रमा धेरै परिर्वतन अथवा सुधार आएको देखिदैन ।

नेप्सेको वृद्धि कति स्वभाविक ?
करिब डेढ महिनाको अवधिमा सेयरबजारको वृद्धि हेर्नेहो भने समग्र कम्पनीको सेयर मूल्य बढेको देखिन्छ । खराब वित्तीय विवरण भएका कम्पनीको पनि सेयर मूल्य बढेको छ । यसले बजारको वृद्धि अलि अस्वाभाविक हो कि भन्ने केही विज्ञहरुको तर्क छ ।

पछिल्ला केही वर्षमा बजार स्थिर जस्तै रहेको सेयरबजार सरकार परिर्वतन र मौद्रिक नीति खुकुलो बन्दै जानुले पनि महत्वपूर्ण भूमिका खेलेको धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी बताउँछन् ।

“अहिले जुन किसिमले बजार बढिरहेको छ, त्यसले बजारमा ससाना लगानीकर्ता बढी सजग हुनुपर्ने देखिन्छ,”  गिरी भन्छन्, “मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई खराब कर्जा र वित्तीय विवरणमा सुधार ल्याउन नीतिगत लचकता प्रदान गरेको हुनाले बैंक तथा वित्तीय संस्थाको सेयरप्रतिको आर्कषण बढ्नु स्वभाविक पनि हुन सक्छ ।”

पौडेलकाे भनाइ छ, “हामी अर्थतन्त्रको गहिरो संकटबाट सुधारोन्मुख हुँदै अहिले केही सहज अवस्थामा आएका छौं, पुँजीबजार अर्थतन्त्रका ऐना भन्ने मान्यता पनि छ जसअनुरुप देशको अर्थतन्त्र सहज हुँदै गर्दाको पहिलो प्रतिबिम्ब सेयरबजारमा देखिएको हो ।”

अहिले अर्थतन्त्रका सूचकहरु सकरात्मक हुँदै जाँदा सरकारपरिर्वतनसँगै स्थिर सरकारको अपेक्षामा रहेको बजार बढ्नु स्वभाविक रहेकाे तर्क पाैडेलकाे छ।

“बजार धेरै समयसम्म घट्दो क्रममा चलेको थियो। अहिले विभिन्न कारणले गर्दा बजारमा उत्साह देखिन थालेको छ। लगानीकर्ता लगानीका रणनीति बनाउदै बजार प्रवेश गर्न थालेका छन्। बजारले धेरै आरोह अबरोह पार गर्दै लयमा चल्न वृद्धिलाई स्वभाविक मान्नु पर्छ।” पौडेलले भने ।

कस्तो छ लगानीकर्ताको मनोविज्ञान
लामो समयदेखि वियरिस ट्रेण्डको मार खेपेको सेयरबजारले बुलिस ट्रेण्डको लय समातेको सेयरबजारका लगानीकर्ता बताउँछन्।

नेप्से परिसूचक एक दुई सय बढेपछि करेक्सन आउँदै अगाडी बढ्छ भन्ने सोचेका लगानीकर्ता बजार आफ्नै गतिमा अगाडी बढेपछि बुलिस ट्रेण्डकै सुरुवात भएको स्वीकार गर्छन् ।

चालु आर्थिक वर्षमा नेपाल राष्ट्रबैंकको केही लचिलो मौद्रिक नीतिले नै लगानीकर्ताको मनोबल बढाएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालकाे भनाइ छ ।

लम्साल भन्छन्, “वित्तीय सूचकहरु अहिले बजार अनुकुल छन्, बैंकको ब्याजदर निरन्तर आरालो लागिरहेको छ । बैंकहरुसँग पर्याप्त तरलता रहेको छ । अहिले सबैतिरबाट बजार बढ्नको लागि अनुकुल वातावरण रहेको हुँदा लगानीकर्ताको मनोबल उच्च बनेको छ ।”

व्यक्तिगत सीमा नघटाए पनि ठुलो कारोबार गर्न इन्भेष्टमेन्ट कम्पनीमार्फत जाँदा राम्रो हुन्छ भन्ने सन्देश मौद्रिक नीतिले दिएको उनकाेको भनाई छ ।

लम्सालका अनुसार अर्थतन्त्रका सूचक सकरात्मक बन्दै गएको अवस्थामा देशै दुई ठुला पार्टीको गठबन्धनमा सरकार बन्दा राजनीतिक स्थिरता हुन्छ, नीति नियममा सुनिश्चितता आउँछ र आर्थिक गतिविधिहरु हुन्छन् भन्ने विषयलाई आँकलन गरेर बजार अगाडि बढिरहेको छ ।

तरलता, देशको राजनीति, व्याजदर, राष्टबैंकको नीति सबै विषयले सर्पोट गरिरहेको हुँदा सेयरबजारको वियरिस ट्रेण्ड सकिएर बुलिस ट्रेण्डमा प्रवेश गरिसकेको लम्सालको तर्क छ ।

लम्साल भन्छन् “सेयरबजारमा सानो तिनो करेक्सन आउँदै बजार अगाडी बढ्छ, आउँदो एक वर्षसम्म सेयरबजार बुलिस ट्रेण्डमै रहन्छ, लामो समयको करेक्सन देखिदैन, त्यसैले नेप्से परिसूचक अझै माथि जान्छ ।”

सेयरबजार बढ्ने कारणहरु केही पहिलादेखि नै देखिएपनि लगानीकर्ताहरुमा आत्मबल हुँदा बजार बढ्न सकेको थिएन ।
बैंकहरुमा तरलता थुप्रिदा, बैंकको व्याजदर घट्दा पनि सेयरबजारले सकरात्मक प्रतिक्रिया दिन सकेको थिएन ।

राष्ट्रबैंकको लचिलो नीति र सरकार परिर्वतनले पनि बजार बुलिस ट्रेण्डमा जान सघाउ पुगेको सेयरबजारका प्राविधिक विष्लेशक सुवास चन्द्र ढुंगाना बताउँछन् ।

ढुंगाना भन्छन् “बजार बढ्ने वातावारण केही महिना अगाडी देखि नै देखिएका थियो तर प्रचण्ड नेतृत्वको सरकारको समयमा लगानी गर्न लगानीकर्ताहरु कन्फिडेन्स थिएनन्।”

“केही महिना अगाडी पनि बैंकमा पर्याप्त तरलता, व्याजदर घटिरहेको अवस्था पनि बजारले सकरात्मक हुन सकेको थिएन्” ढुंगाना थप्न्छन्, “यी विषयलाई सरकार परिर्वतनले ठुलो भूमिका खेल्यो अर्थमन्त्रालयमा विष्णु पौडेलको ठाउँमा अरु कुनै व्यक्ति आएको भए पनि बजार बढ्ने नै थियो, त्यसमा मौद्रिक नीतिले अझै सर्पोट गर्दा बजारमा छोटो समयमै ठुलो बुल आयो ।”

सेयर बजारभन्दा अन्य लगानी क्षेत्रहरु पनि सुस्ताएका छन्। अन्य क्षेत्रमा जान नसकेको पूँजी अहिलेयर बजारमा भित्रिएको अनुमान गरिएकाे छ।

पछिल्लो समय बैंकको ब्याजदर घटेर एकोहोरो अंकमा झर्दा बैंकमा जम्मा भएको निक्षेपले भन्दा बजारमा गरिएको लगानीबाट राम्रो प्रतिफल आउने सम्भावना बढेपछि सबैको चासो सेयरबजारमा देखिएको छ ।