काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको उद्देश्यप्रति बेइमानी भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित स्टार्टअप नेशन २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी तत्वहरु प्रवेश गर्दा सहकारीको उद्देश्य प्रति बेइमानी भएको बताए ।
प्रधानमन्त्री ओलीले भने “हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्वहरु त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरुको व्यापक नेटवर्क बनाउनु पर्छ ।”
कामको खोजिमा युवाहरु दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशबाट बाहिरिने युवाहरुका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
“ससाना पुँजीले अलि ठुला कामहरु गर्नेगरी अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।” प्रधानमन्त्रीले भने “सिप आम्दानी आत्मविश्वास बढाउने कार्यक्रमहरु यो सरकारले ल्याउने छ ।”
प्रधानमन्त्री ओलीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने दावी गर्दै स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको बताए ।
प्रतिक्रिया दिनुहोस्