काठमाडाैँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छरिएको पुँजीलाई एक गरेर जलविद्युतमा क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
आज जलविद्युतमा लगानीको अवस्था बारे एक दिने गोष्ठीमा उनले छरिएको पुँजीलाई एकत्रित गरेर जलविद्युतमा लगानी गर्दा उर्जा क्षेत्रको विकास हुने बताएका हुन् । उनले उर्जा क्षेत्रमा समय, जवानी, पुँजी लगानी गरेर समस्या र समाधान बुझेकाले यस क्षेत्रका सम्भावनाबारे बहस गर्नेपर्ने बताए ।
उनले नेपालसँग भएको प्रकृति स्रोत र सम्पदा मध्ये जलस्रोत निकै महत्त्वपूर्ण रहेकाले नेपालको भविष्यको लागि अत्यधिक प्रयोग गर्नुपर्नेमा जोड दिए ।
उनले भने, “हामीले समस्या छ भनेर भन्दा पनि के के समस्या छ त्यस विषयमा बहस गरौ । तपाईंहरूले देशको अर्थतन्त्र चलायमान बनाउन योगदान दिनु भएको छ र केही गर्न कोशिस पनि गर्नुभएको छ त्यसैले दिगो योजनामा वहस गरौ ।”
उनले उत्पादन भएको जलस्रोतलाई अधिकतम मात्रामा कसरी प्रयोग गर्न सकिन्छ भनेर योजना बनाउनुपर्ने बताए ।
उनले भने, “हामी यो विषयमा प्राय चुकेका छौँ । हामी उत्पादन र बिक्री गर्ने भन्दा पनि देशमा नै खपत गर्न उद्योग खोल्ने तिर किन नलाग्ने? हामी बहुराष्ट्रिय कम्पनीलाई ल्याएर उद्योग स्थापना गर्नुपर्छ । हामी खपतबाट बचेको बिजुली बल्ल बेच्ने तर्फ लाग्नुपर्छ।”
उनले उर्जाको आन्तरिक खपत बढाउँदा आम जनताको जीवनस्तरमा परिवर्तन आउने बताए ।
प्रतिक्रिया दिनुहोस्