चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै सरकारको ध्यानाकर्षण


काठमाडाैँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरूको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विचौलियाहरूको कारण उपभोक्ताहरूको दैनिक जीवनमा असर पर्नुका साथै आम नागरिकमा निराशा र आक्रोश बढेको बताए । उनले दैनिक उपभोग्य वस्तुका अतिरिक्त चाडपर्व विशेषमा उपभोग गरिने वस्तुहरुको आपूर्ति सहज बनाउन, मूल्य नियन्त्रण गर्न विचौलियाहरूलाई कानूनी दायरामा ल्याउन र बजारमा उपभोक्ताहरूको सहज र सरल पहुँच बिस्तार गर्न आवश्यक रहेको बताए ।

सांसद पौडेलले उपभोग्य वस्तुहरूको आपूर्ति प्रणालीलाई सहज, सरल र व्यवस्थित बनाइ उपभोक्ताहरुको हित प्रवद्र्धन र गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवहारगत समस्याको पहिचान गरी उपभोक्ताले महशुस गर्नेगरी समस्याको समाधान समयमै गर्न सरकारको ध्यानाकर्षण गराए ।