पुँजी बजारमा भएको सुधारले जनतामा आशा जगाएको छः प्रधानमन्त्री ओली


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारमा उल्लेखिय सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताएका हुन् ।

उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा केही परिणाम देखिन थालेको बताए ।उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । उनले घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको बताउनु भयो । उहाँले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी नभएको बताए । उनले भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नु नहुने भन्दै सरकारले कानूनी अनुसन्धान र नतिजामुखी बनाउने प्रतिवद्धता जनाए ।