काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीआईएन) को आयोजना र लगानी बोर्ड, भौतिक पूर्वाधार मन्त्रालय लगायत निजी क्षेत्र सहआयोजकमा आगामी भदौ २७ र २८ गते राजधानीमा पाँचौँ संस्करणको पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ ।
दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको छ । सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, यूथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
परिसंघका अध्यक्ष राजेश अग्रवालले पूर्वाधार विकास अपरिहार्य रहेको र लगानीको आवश्यकता उत्तिकै रहेकाे बताए । उनले दिगो विकासको लक्ष्य हासिल गर्न सन् २०३० सम्म वार्षिक २० खर्ब भन्दा बढी लगानी आवश्यक रहेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख रहेकाे बताए ।
नेपाल उद्योग परिसंघ र आईआईडीएसले सन् २०१९ मा गरेको अध्ययनअनुसार दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्नेगरी पूर्वाधार क्षेत्रमा मात्रै १ खर्ब ३० अर्ब डलर लगानी आवश्यक पर्ने देखिएको छ ।
पूर्वाधारमा धेरै लगानी आवश्यक तर स्रोतको अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यासहरू के–के छन् भन्ने विषयमा गहन रूपमा सम्मेलनमा छलफल हुने परिसंघले जनाएको छ । दुई दिनको सम्मेलनमा करिब एक दर्जन पूर्वाधारसम्बन्धी क्लास चल्ने जनाएको परिसंघले प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराउने बताएको छ ।
पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबिच सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।
‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, ऊर्जा, सहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ । छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशका विज्ञहरू, लगानीकर्ताहरूको सम्मेलनमा सहभागिता रहने परिसंघले जनाएको छ । पाँचौँ संस्करणको सम्मेलनमा बीवाईडी टाइटल स्पोन्सर रहेको परिसंघले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्