रबि लामिछानेलाई सोधियो ५० प्रश्न, राती १ बजेसम्म बयान


काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरेको छ ।

लामिछाने र सम्बद्ध अन्य व्यक्तिहरुसँग पनि गरिएको सोधपुछ अबेर राती मात्र सकिएको छ । समिति सभापति थापाले लामिछानेसँगको सोधपुछको कागजमा राती १ः०५ बजे हस्ताक्षर भएको जनाएका छन्।

शुक्रवार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने जिकिर गरेका थिए।

सभापति लामिछानेले आफू प्रवन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको थापाले जानकारी गराए ।

शुक्रवारको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशी र तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसँग शोधपुछ गरिएको हो।

लामिछानेलाई समितिले ५० वटा प्रश्न सोधेको छ । उनले आफू गोरखा मिडियामा ५० प्रतिशत सेयर होल्डर रहेको तर सहकारीका विषयमा जानकार नभएको जिकिर गरेका छन् । राईले रकम कहाँबाट ल्याए भन्ने जानकारी नभएको दाबी पटक पटक गरेको समितिले जनाएको छ।

उनले दिएको उत्तरलाई विश्लेषण गरेर निश्कर्ष निकाल्ने समितिको तयारी छ । सोधपुछको क्रममा लामिछानेले बाहिर अभ्यास भएको तर नेपालमा अभ्यास नभएको स्वेट सेयर लिएको जनाएका छन् । यस प्रकारको सेयर कम्पनीले आफ्ना कर्मचारीलाई जगेडा सेयरबाट बाँडफाँड गर्ने अभ्यास हो ।

कम्पनी सञ्चालनमा रहीरहँदा, आफना कर्मचारीलाई स्वामित्व महसुस गराउन दिइने यस प्रकारको सेयर त्यो पनि ५० प्रतिशत र कम्पनी सुरु हुनु अगाडि नै दिइएको पाइएको हो ।

नेपालमा यसको अभ्यास नभएकाले कसरी मिलाउन सकिन्छ मिलाउनका लागि राईलाई अनुरोध गरेको लामिछानेले बयानका क्रममा भनेका छन्। यद्यपी सेयर विक्रीको विक्री पट्टा भने उनीसँग रहेको बताइएको छ ।