विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण सम्भव छैनः आयल निगम


काठमाडाैँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारण तत्काल स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएका हुन् ।

उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको बताए । यद्यपी प्रधानमन्त्रीको निर्देशन अनुरुप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको उनले उल्लेख गरे ।

राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने उनले उल्लेख गरे। उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भएपनि जग्गा अभावका कारण सम्भव नभएको उल्लेख गरे। उनले जग्गा उपलब्ध हुन सकेमा आफूहरुले तुरुन्त काम अगाडी बढाउने बताए । निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भएपनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको उनकाे भनाइ छ । 

उनले आयल निगमलाई तुरुन्त जग्गा उपलब्ध गराउनका लागि नार्कलाई निर्देशन दिन पनि समितिलाई आग्रह गरे ।