चाडपर्व लक्षित अनुगमनः ६० हजार बराबरको खाद्य पदार्थ र ९६ हजारको दूषित दाना नष्ट


काठमाडौँ । सरकारले साउन महिनामा ४६६ पटक अनुगमन निरीक्षण गरी, नियम प्रतिकूल रहेका करिब ६० हजार रुपैयाँ बराबरको खाद्य पदार्थ तथा ९६ हजार रुपैयाँ बराबरको दूषित दाना पदार्थ नष्ट गरेको जनाएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयले उपल्बध गराएकाे तंथ्याक अनुसार अनुगमनको क्रममा दुग्ध पदार्थ ६९ पटक, प्रशोधित पिउने पानी ११० पटक तथा होटल र रेष्टुरेण्ट २२६ पटक अनुगमन गरिएको हो। जसबाट साउन महिनामा मात्रै १३ वटा मुद्दा दायर गरिएको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले नजिकिँदै गरेको चाडपर्व लक्षित अनुगमन कार्ययोजना बनाएर देशैभरि राजमार्गस्थित होटल रेष्टुरेण्ट, खाद्य बजार, होलसेल बजार, डिपार्टमेण्ट स्टोर लगायतको अनुगमन कार्य सुचारू गरेको जनाएको छ। यस क्रममा, नाकामा आयात भएका ४ हजार ३८१ वटा फलफुल र तरकारीको नमूनामा विषादी अवशेष परीक्षण गरिएकोमा ५ वटा नमूनामा प्रतिकूल परिणाम फेला परेको मन्त्रालयले जनाएको छ।

यस अनुगमनले दूषित खाद्य पदार्थको आयातमा रोक लगाउन र जनस्वास्थ्यलाई सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जनाएकाे छ ।