अर्थमन्त्रीको आग्रहः मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस्


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा भएकाे कार्यक्रममा काम गर्ने की भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित दिन निजी क्षेत्रहरुलाई आग्रह गरे ।

उनले बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन सुझाव दिए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताए ।

अहिलेको संसदबाट बनेको पछिल्लो सरकारले सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको उनकाे भनाइ छ ।

उनले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि बताए । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने उनकाे भनाइ छ । अर्थतन्त्रका सबै सूत्रहरुमा यथेष्ठ अध्ययन र विश्लेषण गरी निर्णयमा पुग्ने उनले बताए ।