नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण


काठमाडौँ । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ मा नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ को सार्वजनिक गरेको छ । यी मोटरसाइकलको अनावरण उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेका हुन् ।

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्ने जनाइएको छ ।

यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउने उल्लेख गरिएको छ ।

अटो शोमा बुकिङ गर्ने आगन्तुकहरूलाई ६ हजार रुपैयाँको विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । नाडा अटो शो २०२४ यहि भाद्र १६ गतेसम्म जारी रहनेछ ।