संसदीय समितिमा सांसदहरुको प्रश्तावः नेपाल वायुसेवा निगमलाई निजीकरण गरौं


काठमाडाैँ । संसदीय समितिमा सांसदहरुले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रश्ताव राखेका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिसमशेर जबराले यस्तो प्रश्ताव राखेका हुन् ।

सांसदहरुले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रश्ताव समितिमा राखे । उनीहरुले निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजिकरण गर्नुपर्ने प्रश्ताव गरे ।

भारत जस्तो ठूलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरुको धारणा थियो । सांसदहरुले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए ।

सांसदहरुले निजी कम्पनीका जहाजहरु अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरु सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए । उनीहरुले एउटा जहाज एक महिनाभित्र सि चेक भएर नेपाल आउनुपर्ने भएपनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे ।

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाइ जहाज चलाउन नसकेको दाबी गरे । उजले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औंल्याए ।

सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्रलाई दिनुपर्ने उनकाे भनाइ छ। नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रश्ताव ल्याउनुपर्ने उनले बताए ।

उनले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भएपनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको बताए । चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको उनकाे भनाइ छ । जहाज सि चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्या मात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने उनकाे धारणा छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताए । सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने उनले धारणा राखे ।

राष्ट्रिय ध्वाजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैँ समस्या र आर्थिक रुपमा कमजोर बनाएर चलाउन नहुने उनले बताए । उनले भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने तर्क राखे । नेपाल वायुसेवा निगममा फण्डामेण्टल समस्या रहेको भन्दै एउटा वाइडवडी जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न नसक्ने उनकाे भनाइ छ ।

धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालनको लागि दिन उपयुक्त हुने उनले बताए । उनले सरकारबाट नेपाल वायुसेवा निगम चल्नसक्ने जिकिर गरे । अब निगम चलाउने निजी कम्पनीले मात्रै चलाउन सक्ने अवस्था देखिएको उनले उल्लेख गरे ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको छ ? भन्दै नेतृत्वको क्षमता माथि प्रश्न उठाइन् । उनले निगमको नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको बताइन् । विश्वका धेरै देशमा दुई वटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको उनले उल्लेख गरिन् । उनले निगमको नेतृत्वले राजनीतिक दलहरुलाई दोष दिएर भाग्न नमिल्ने बताइन् । 

नेपाली काँग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताए । उनले चार वटा जहाजमा एउटै समयमा ३ जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरे । जहाज मर्मतको लागि इजरायल,इटली जाँदा फर्कंदै नर्फकनुको कारण के हो ? भन्दै उनले प्रश्न गरे ।  

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मत लगायत समस्या भएको बताए । निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको उनकाे भनाइ छ । उनले निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर आईरहेको बताए । निगम व्यवस्थापनलाई व्यस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीति स्वार्थ भन्दा माथि उठेर समाधान गर्न आवश्यक रहेको उनले उल्लेख गरे । नेपाल वायुसेवा निगममा देखिएको समस्या नीतिगत रुपमा समाधान गर्न आवश्यक रहेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पाट्र्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए । उनले निगमले जहाजहरु सञ्चालनको लागि सामान्य व्यवस्थापन समेत गर्न नसकेको उल्लेख गरे ।

उनले निगमका जहाजहरु राम्रो योजना बनाएर सञ्चालन गर्ने भन्दा पनि निगम नेतृत्व विदेश भ्रमणमा मात्रै गइराख्नु उपयुक्त नभएको बताए ।