दुई पांग्रे सवारीमा युवा पुस्ताकाे क्रेज, १९ ब्राण्डकाे उपस्थिति एउटै छाना मुनी


काठमाडौँ । राजधानीको भृकुटीमण्डप यतिबेला सवारी साधनका पारखीले भरिएका छन् । अवलाेकनकर्ताकाे सहजताका लागि  यसपटककाे अटाे शाे मा टू ह्वीलर्स र फोर ह्वीलर्सको बेग्लाबेग्लै पेभेलीयन बनाइएकाे छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्यक वर्षजस्ताे हुने नाडा अटो शो यस पटक गत भदौ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

जसले गर्दा भृकुटीमण्डपमा यतिबेला सवारी साधनको पारखीहरू नयाँ नयाँ मोडलका सवारी साधन किन्न र अवलोकन गर्न पुगेका छन् । उसो त यसपटकको नाडा अटो शो इभीमय हुन पुगेको छ । ८० प्रतिशत विद्युतीय सवारी साधनले ढोकेको अटो शोमा चारपांग्रे गाडीमा विद्युतीयतर्फ ग्राहकको आकर्षण रहे पनि दुई पांग्रेमा विद्युती र पेट्रोलियम बाइक दुबैमा आम ग्राहककाे ध्यान तानेको छ।

आधा दर्जन बढी नयाँ दुईपांग्रे मोडल सार्वजनिक भैसेकेका छन् भने त्यी सवारीले नयाँ नयाँ अफरहरू सार्वजनिक गरेर ग्राहकहरूलाई आफ्नो पोल्टोमा पार्न काेशीस गर्दै छन् । नाडा अटो सो २०२४ दुईपांग्रेका स्टल १९ वटा छन्। जसमा नेपाली बजारमा चलेका अधिकांश ब्रान्डलाइ प्रर्दशनीमा राखिएकाे छ।

रोयल इन्फिल्डले हिमालयन ४५०

अटाे शाेकाे पहिला दिनमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलेले नेपालमा एसेम्बलिङ् भएकाे रोयल इन्फिल्डले हिमालयन ४५० सार्वजनिक गरेको छ। यसको मूल्य ९ लाख ८९ हजार रुपैयाँ छ। सो नयाँ मोटरसाइकलमा कम्पनीले पहिलोपटक लिक्विड कुल्ड इन्जिन दिएको छ । यसमा जडान भएको ४५२ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिनले ४० बीएचपी पावर र ४० एनम नै टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

साथै सोही नयाँ मोटरसाइकल मार्फत कम्पनीले पहिलो पटक सिंगल सिलिन्डर इन्जिनमा ६ स्पिड गियरवक्स दिएको छ । सो ब्रान्डको सिंगल सिलिन्डरमा यसअघि ५ स्पिड गियरवक्स मात्र उपलब्ध रहेको थियो । ६ स्पिड गियरवक्स जडान भएपछि यसलाई उच्च गतिमा हाँक्न सकिने कम्पनीको दाबी छ ।

पल्सर एनएस ४००

मेलामा बजाजकाे पल्सर एनएस ४०० पनि सार्वजनिक भएकाे छ । यसको मूल्य ५ लाख ४९ हजार छ। ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज छ। साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वायर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्ने कम्पनीकाे दाबी छ ।

१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सिटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेकाे कम्पनीले जनाएकाे छ ।

ट्राइम्फका ४०० सीसीका बाइक

गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेलहरू सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् ।

कम्पनीका अनुसार यी मोटरसाइकलहरूले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाईकल सेगमेन्टलाई पुनःपरिभाषित गर्ने लक्ष्य राखेको छ ।शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको कम्पनीले जनाएको छ ।

यसमा ४३ मिलिमिटरको अपसाइड–डाउन फोक्र्स, प्री–लोड एड्जस्टेबल रियर मोनोशक, र १७–इन्चको एल्युमिनियम ह्वील प्रदान गरिएको छ । साथै ग्राहकले राइड–बाइ–वायर थ्रोटल, स्विचेबल ट्र्याक्सन कन्ट्रोल, एबीएस, एलईडी लाइटिङ र थप सुरक्षाको लागि इम्मोबिलाइजरको सुविधा पनि प्राप्त गर्ने कम्पनीको दाबी छ । भदौ ११ देखि भदौ १६ सम्म नाडा अटो शोमा यी मोटरसाइकलहरू बुकिङ गर्ने ग्राहकहरूलाई ट्रायम्फ स्पीड ४०० विशेष मूल्य रु. ६ लाख ३९ हजार ९०० मा र ट्रायम्फ स्क्र्‍याम्ब्लर ४०० एक्स विशेष मूल्य रु.६ लाख ८९ हजार ९०० मा प्रदान गरिने कम्पनीले जनाएको छ ।

हिरोकाे तीन वटा मोडल

नाडा अटो सोमा सीजी मोटर्सले हिरोले एक्सपल्स २०० भी प्रो शोकेस गरेको छ। सीजी मोटर्सले यसअघि ३ वटा मोडल मात्रै बिक्री गर्दै आएकोमा एक्सट्रिम ४०० १६० मोटरसाइकल सार्वजनिक गरेको छ। त्यसैगरी एक्सएमआर २१० सार्वजनिक गरेको छ। उक्त मोटरसाइकलको २५.५ पीएस पावर छ भने २०.४ एनएम टर्क जेनेरेट गर्छ।

जिहो एई ४

चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोको नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जिहोको नेपालका लागि आधिकारिक बिक्रेता रहेको रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेडले नाडा अटो शो २०२४ उद्घाटको अवसरमा जिहो एई ४ मा सार्वजनिक गरेको हो । कम्पनीले नेपाली बजारमा यस स्कुटरको सुरवाती मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।

३ किलोवाट पीक पावर क्षमताको मोटर रहेकाे जिहो एइ ४ मा प्रतिघण्टा ६५ किलोमिटर बढि स्पिडको सुविधा छ । यो स्कुटर एबीएस र नन एबीएस भर्सनमा नेपाल आएको हो । यसमा ७२ भोल्ट ४८ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । फास्ट चार्जर सर्पाेट गर्ने एइ ४ लाई एकपटकको फुलचार्जमा ९० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

यसमा डिस्क ब्रेक, एक्स्ट्रा लार्ज साइजको सीट, एलसीडी डिस्प्ले, क्रुज कन्ट्रोल, एन्टी थेफ्ट अर्लाम, राइड मोड जस्ता फिचर उपलब्ध छन् । जिहो एइ ८, एइ ६ र एइ ६ प्लस नेपाली बजारमा यसअघि नै बिक्री हुँदै आएको छ ।

यी लगायत मेलामा अन्य विद्युतीय ब्रान्डमा एथर, एनआईयू, जिहो, गोगोरो, गारो, याडियालगायतका छन् भने पेट्रोलतर्फ नयाँ प्रिमियम ब्रान्ड ट्राइम्फ, हिरो, बजाज, रोयल इन्फिल्ड, सीएफफ मोटो, यामाहा, टीभीएस, बेनलीलगायत छन् जसले युवा पुस्ताकाे ध्यान तानेकाे छ ।

तस्विरःपुष्पा पाल