नाडा अटो शोको आज अन्तिम दिन, ५ दिनमा ७४ हजार गरे अवलोकन


काठमाडौँ । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा जारी नाडा अटो शोको आज अन्तिम दिन हो। । भदौ ११ गतेदेखि सुरू भएको नाडा अटो शो २०२४ मा पाँच दिनमा ७४ हजार ६ सय जनाले अवलोकन गरेका छन् ।

नाडा शोमा पहिलो दिन ८ हजार ५००, दोस्रो दिन १५ हजार, र तेस्रो दिन १५ हजार ५ सय, चौथो दिन १७ हजार २ सय र हिजो (शनिवार) १८ हजार ४ सयले नाडा शो अवलोकन गरेको नाडा अटो शो २०२४ का मेला संयोजक अनुप बरालले जानकारी दिए ।

बिशेषगरी विद्युतीय सवारीको दबदबा रहेको यो पटकको नाडा अटो शोमा अनुमान भन्दा धरै अवलोकनकर्ताले नेपालकै ठूलो मेला भ्रमण गर्ने आयोजकको दाबी छ । यो पटकको नाडा अटो शोले नेपाल विद्युतीय गाडीको बजार तर्फ मोडिएको सन्देश दिने सहज अनुमान लगाउन सकिन्छ ।

अटो शो विगतका वर्षहरूमा भन्दा सस्तो ब्याजदरमा बैंकहरूले अटो लोन दिनेगरी योजना ल्याएर ग्राहकलाई आकर्षित गरिरहेको छन्।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू, १९ दई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको छ । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता छन् ।

मेलामा ९५ प्रदर्शकहरू सहभागीहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले छ दिनको अवधिमा करिब ७५ हजार मानिसले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ ।