आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छः महासचिव पोखरेल


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रिय महिला विभागद्वारा आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा उनले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताए ।

अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको उनकाे भनाइ छ । उनले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको देशलाई कमजोर र खोक्रो बनाइरहेको बताए ।

देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने उनले उल्लेख गरे । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने उनकाे भनाइ छ ।

देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको उनले बताए । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको उनकाे भनाइ छ ।