इजरायलका लागि प्रस्तावित राजदुत पण्डितले भने: नेपालको कृषि क्षेत्रको समुन्नतिका लागि काम गर्छु


काठमाडाैँ । इजरायलका लागि प्रस्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डितले आफूले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले सो कुरा बताएका हुन् । प्रस्तावित राजदुत पण्डितले सबै प्रदेशमा इजरायलसँग सहकार्य गरेर कृषि केन्द्रमार्फत सहकार्यमा काम गर्ने वातावरण निर्माणमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

सकेसम्म सबै प्रदेशमा इजरायल सरकारको सहकार्यमा कृषि केन्द्र स्थापना गरी नेपालको कृषि क्षेत्रको समुन्नतिमा आफूले काम गर्ने उनको भनाइ थियो ।प्रस्तावित राजदुत पण्डितले नेपालले कृषि क्षेत्रलाई समुन्नत बनाउन सके ठूलो उपलब्धि हुने आफूले देखेकाले सोही उद्देश्य पूरा हुने गरी आफूले काम गर्न चाहेको पनि बताए ।

“मेरो सेलेक्सन भएर काम गरेँ भने देशलाई केही न केही अहिलेको उपलब्धि देखाएर कम्तिमा २, नभए सबै राज्यमा कृषि केन्द्र बनाएर ज्वयन्टी काम गर्नसक्यौं भने इजरायली टेक्नेसियन पनि ल्याएर काम गर्नेछाैँ । इजरायलीहरूले नेपालीहरुको आफ्नो देशमा गएपछि अल्छी हुन्छन् भनेको मैले सुनेको छु,” उनले भने ।

प्रस्तावित राजदुत पण्डितले आफूले इजरायल र हमासबीचको युद्धविराम गराउनका लागि पनि कूटनीतिक पहल गर्ने बताए ।