सरकारलाई काँग्रेस सांसद भण्डारीको प्रश्नः एनसेलबाट रकम असुली गर्नुपर्दैन ?


काठमाडाैँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले एनसेलबाट अर्बौैं वक्यौता रकम असुली नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले एनसेलको वक्यौता रकम असुली गर्न पर्दैन ? भनि सरकारलाई प्रश्न समेत गरेका हुन् ।

सांसद भण्डारीले एनसेल र विद्युत पैसा उठाउन नसकिने, जहाजहरू ग्राउन्डेट हुने लगायतका विषयहरू बाहिर आउँदा पनि सरकारलाई चिन्ता नभएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन पनि सरकारसँग माग गरे ।

“जनतासँग पैसा लिएपछि सरकारले उठाउनु पर्र्दैन ? कुन न कुनै गडबढी नभई बत्तिको बिल उठाउनु झगडा, पैसा तिर्नका निम्ति झगडा, प्लेनहरु ग्राउन्डेट हुने समस्या । के यो मुलुकमा सरकारलाई चिन्ता छैन ? सरकार के का निम्ति ? प्रजातन्त्र के का निम्ति ? केही सीमित व्यक्तिहरूलाई ब्रह्मलुट गर्नका लागि हो,” उनले भने । सांसद भण्डारीले विकास, निर्माणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे ।