उर्जामन्त्रीको दाबीः आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको छ


काठमाडाैँ ।उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रूपमा विश्वसनीय वातावरण सिर्जना भएको बताएका छन् ।

शुक्रवारबाट काठमाडौँको भृकुटीमण्डमा सुरू भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले दुई ठूला राजनीतिक दलहरूको सरकार रहेको भन्दै नागरिकहरूले पनि विश्वासका साथ लिइरहेको बताए । उनले अहिलेको सकरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताए ।

वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गरे । धेरै कम्पनीहरूलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताए ।

उनले भने,”यति धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर आज मुलुकको आवश्यकताका लागि जे प्रयास गर्नुभएको छ । यो अत्यन्तै सह्रानिय छ । अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरूले यहाँ धेरै कुरा देखेँ । ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरुको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरूले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ ।”

यस्ता मेलालो विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने विश्वास व्यक्त गरे । सरकारले विभिन्न नीति नियमहरूको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रतिवद्धता जनाए ।