निजी अस्पतालले पनि बिमाको सुविधा दिने व्यवस्था गर्दैछौँः मन्त्री पौडेल


काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले निजी अस्पतालहरूले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन् ।

शुक्रवार एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।

सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बिमा सुविधा हुनुपर्ने बताए । “बिमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ति अस्पतालहरुमा स्वास्थ्य सेवा किनेको हो । बिमा बोर्ड यति शक्तिशाली हुनुपर्छ की, मैले तिम्रो माध्यमबाट मेरोमा बिमा गर्नेहरूलाई स्वास्थ्य सेवा दिन लगाएको हो,” उनले भने ।

उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए । उनले बिमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए। उनले बिमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने बताए ।