टिकटक प्रतिबन्ध हटाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियाे


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकहरूलाई टिकटक चल्ने बनाउन निर्देशन दिएको छ।

सरकारले भदौ ६ गतेको बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएकोले खोल्नका लागि प्राधिकरणले निर्देशन जारी गरेको हो।

“नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवाप्रदायकहरूलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ”, सूचनामा भनिएको छ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियाे । टिकटकबाट सामाजिक सद्‍भाव बिगार्ने काम गरेको भन्दै प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पर्यटन प्रवर्द्धनसहितका ४ सर्तसहित टिकटक खोल्न दिने निर्णय उक्त मन्त्रीपरिषद्को बैठकले गरेको थियो ।