मोदीजी र म मिलेर ईपिजी बनाएका हौं, अब अघि बढ्छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफैँ रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।

शनिबार सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तक ‘इन्टरनेशनल वाटरकोर्स लः अ परसपेक्टिभ अन नेपाल इण्डिया ओअपरेशन’ को विमोचन कार्यक्रममा बोल्दै उनले इपिजी बनाउनेहरु नै दुबै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताए । उनले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने बताए।

प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताए। प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको समस्या समाधानका लागि खुलस्त ढंगले छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

“नेपाल र भारतीका बीचका केही समस्याहरु छन् । तिनलाई धेरै ठूलो समस्या भन्न हुन्न । तर त्यो समाधान गर्नै नसकिने समस्या होइन । फराकिलो मन, अलि सहनशीलता, फराकिलो मन भयो,” उनले भने, “न्यायोचित मनका साथ कुराकानीमा बस्ने हो भने समाधान गर्न नसकिने भन्ने कुरै हुँदैन ।”