काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिएका छन् ।
मंगलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ उपलब्धीका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे ।
उनले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको बताए ।
अर्थमन्त्री पौडेलले भने ‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो । सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला ।’
उनले कोषले सकेसम्म न्युन जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गर्दै दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिए ।
उनलेनेपालमा रोजगारीको पनि आवश्यकता भएपनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष,बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताए।
संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा,मर्यादा,इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्छ। ५ सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ ।’ अर्थमन्त्री पौडेलले भने ।
अर्थमन्त्रीले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको उल्लेख गर्दै प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्