काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरूले भेट गरेका छन् । विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जनबढी व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् ।
अन्तरक्रियाका क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नितिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गरे ।
उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नीतिगत जटिलताहरू नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउदैँ नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैरहेको बिषयमा मन्त्री भण्डारीले लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरे ।
उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रूपमा अनलाइन बाटै दर्ता प्रक्रिया रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्