सहरी कृषि सम्बन्धी अध्ययनले ‘संयुक्त राष्ट्रसङ्घको फ्युचर समिट २०२४’का लागि नयाँ दृष्टिकोण दिने


काठमाडौँ । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न सहरहरूमा लोकप्रिय बन्दै गएको छ । विश्वका मुख्य सहरहरूमा सहरी कृषि अभ्यास गर्दा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन् । तर सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न थालेको एक अध्ययनले देखाएको छ ।

ग्रोनिन्जेन विश्वविद्यालयका डा प्रजल प्रधानको नेतृत्वमा नौ जनाको विश्वव्यापी अध्ययनले सहरी कृषिले दिगो विकास लक्ष्यहरूलाई कसरी प्रभाव पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरेको छ । विश्वभरिका लगभग चौध सय ५० प्रकाशनहरूको समीक्षा गरी सहरी कृषिले दिगो विकास लक्ष्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रभाव कसरी पार्छ भन्ने विस्तृत मूल्याङ्कन गरिएको हो । अध्ययनको नतिजा सेल रिपोर्ट सस्टेनेबिलिटी जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानले सहरी कृषि १७ वटै दिगो विकाससँग गहिरो सम्बन्ध रहेको, जसले ८१ लक्ष्यहरूलाई सकारात्मक रूपमा र ५१ लाई नकारात्मक रूपमा असर गरेको देखाएको छ। संयुक्त राष्ट्र सङ्घको आउँदो साता हुन लागेको फ्युचर समिट २०२४ अघि दिगो विकास तर्फको प्रगतिलाई गति दिने तयारी छ ।

डा प्रधानका अनुसार सहरी कृषिले दिगो विकासका लागि अत्यन्त सम्भावना राख्छ, तर यसको सफल कार्यान्वयन भनेको यसको सकारात्मक प्रभावलाई अधिकतम बनाउँदै नकारात्मक असरलाई न्यूनीकरण गर्न ध्यान दिनु हो। अध्ययनले सहरी कृषिका प्रमुख चुनौतीहरू पहिचान गरेको छ । मिडवेस्ट युनिभर्सिटी नेपालका प्राध्यापक दयाराज सुबेदीले सहरी कृषिले दिगो विकासमा योगदान पुर्याउन स्रोतहरूको समान पहुँच र कडा व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए।

वुहान विश्वविद्यालयका अनुसन्धानकर्ता युआनचाओ हुले भने, “सहरी कृषि दिगो विकासमा मा प्रगति गर्न महत्त्वपूर्ण छ, तर यसका लागि समय र सन्दर्भ अनुकूल समाधानहरू आवश्यक छन्।” अनुसन्धानले सहरी कृषिको सकारात्मक प्रभावलाई बढाउने र नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि दिगो अभ्यासहरू अपनाउन सुझाव दिएको छ। यसले लचिलो सहरी भविष्यको विकासमा योगदान पुर्‍याउँछ।

डा प्रधानले थपे,”हाम्रो अध्ययनले सहरी कृषिको दोहोरो प्रभावलाई उजागर गर्न वैज्ञानिक प्रमाणहरूको संश्लेषण गरेको छ, जसले खाद्य सुरक्षामा सुधार, जैविक विविधताको समर्थन र सामाजिक समावेशीकरणमा मद्दत पुर्‍याउँछ। सहरी कृषि स्थानीय ताजा खाद्य उत्पादनमा सहयोग पुर्याउँदै खाद्य माइलहरू घटाउँछ र खाद्य सुरक्षामा उल्लेखनीय योगदान गर्छ। यसले सामाजिक समावेशीकरण र मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ।”