अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।

सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताए ।

घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उनको भनाई थियो ।

मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन दिए । 

मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताए ।