पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउँछौँः पर्यटनमन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन र नागरिक उड्डयन क्षेत्र सुधारको लागि उच्चस्तरीय अध्ययन समिति बनाउने बताएका छन् ।

सोमवार मन्त्रालयमा पत्रकारहरुसँगको छलफलमा मन्त्री पाण्डेले नागरिक उड्डयन र पर्यटन क्षेत्रको सुधार गर्न आवश्यक देखिएकाले उच्च अदालतका पूर्वप्रमुख न्यायाधीशको संयोजकत्वमा समिति गठन भइसकेको बताए ।

उनले प्राविधिक कारणले ढिलाई भइरहेको भन्दै चाँडै समितिको विषय मन्त्रीपरिषद्बाट पारित हुने जानकारी दिए । उच्चस्तरीय पर्यटन सुधार समितिले नागरिक उड्डयन क्षेत्रमा अहिलेसम्म भएका अध्ययनहरुको पुनरावलोकन गर्ने उनले बताए ।

उनले पुराना अध्ययनको पुनरावलोकन मात्रै नभएर अहिलेको सिस्टमको पनि अध्ययन गरी सरकारलाई सुझाव दिने उल्लेख गरे । मन्त्रालयले पनि तारागाउँ विकास समितिका समस्या समाधानको लागि पनि  मन्त्रीस्तरीय अध्ययन समिति बनाउने उनले बताए ।

उनले उक्त समितिले पनि हायात होटलसँग भइरहेका कामहरु ठिक बेठिकका सन्दर्भमा पनि अध्ययन गर्ने जानकारी दिए । यस्ता अध्ययन समितिले विगतमा भएका अध्ययनहरुलाई समेत आधार बनाउँदै अहिलेको अध्ययन निचोडमा पुग्ने र मन्त्रालयको नेतृत्व परिवर्तन भएपनि अध्ययनले देखाएका कामहरु निरन्तर भइरहेने बतावारण बनाउने योजनामा मन्त्रालय रहेको उनले दाबी गरे ।

उनले भैरहवाको गौतमबुद्ध  र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सूचारु गर्नको लागि दिने भनिएका सबै प्रकारका र सहुलियत दिने निर्णय भइसकेको बताए ।

हवाई इन्धन उद्योग मन्त्रालय र पर्यटन बोर्डले लिने शुल्क लगायतमा निर्णय भइसकेको भन्दै चाँडै सबै प्रक्रिया पूरा हुने उनकाे भनाइ छ । उनले टिकटमा लागेको भ्याटको सन्दर्भमा बजेटमा समावेश भएर आएकाले अब के गर्न सकिन्छ भन्ने सन्र्दभमा अर्थमन्त्रीले छलफल गरिरहनुभएको बताए ।