बैकिङ प्रणालीमा तरलता थुप्रिएपछि आज २५ अर्ब रुपैयाँ झिक्दै राष्ट्रबैंक


काठमाडौं । नेपाल राष्ट्रबैंकले आज बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्रबैंकले व्यवस्थापन गर्नको लागि एकै दिन २५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाइएको छ । अनलाइन बिडिङ सिस्टममार्फत अहिले ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।