संसदीय समितिबाट १६ देशका लागि प्रस्तावित राजदुतको नाम पारित


काठमाडाैँ । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताए । समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रश्तावित राजदुत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रश्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राख्नुभएको बताए ।  जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदुत शंकर शर्माको लागि फरक मत रहेको बताए ।

समावेशिता अझै अपूरो रहेको सांसदहरूको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताए । उनले अहिले दुई राजदुत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताए ।