सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल


काठमाडाैँ । सरकारले संविधान दिवसको अवसर पारेर बिहीवारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

बिहीवार काठमाडौँ उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले देशभरका ७४ स्थानहरूमा सहुलियत पसल सञ्चालन गरिएको बताए ।उनले अत्यावश्यक वस्तुहरूमा न्युनतम ५ रुपैयाँ सुफथ मूल्य पसल सञ्चालन गरिएको बताए । उनले सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरू सञ्चालनमा ल्याएको बताए । उनले खाद्य व्यापार कम्पनी भित्रका समस्या र चुनौतीहरु धेरै समय नरहने बताए ।

उनले खाद्य कम्पनीभित्रका समस्या सम्बोधन सरकारले गर्ने बताए । खाद्य व्यवस्था कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका एक तिहाई काम पनि संस्थाले गर्न नसकेको बताए। उनले  कम्पनीले नेपालको खाद्य बजारमा कृत्रिम अभाव,काटेलिङ र कालोबजारी भन्ने शब्द सुन्न नपाउने गरी काम गर्न निर्देशन दिए ।

सरकारले आजदेखि दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याएको छ ।

काठमाडौँ उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ । सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी\गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ ।