अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय होः अध्यक्ष ढकाल


काठमाडाैँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् ।

शुक्रवार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे । उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए ।

उनले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे । उनले व्यवसायीहरूको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे ।

“अहिले पयर्टनको कुरा गर्दा टुरिस्टको नम्बहरू बढेको छ । रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ । अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो । व्यवसायीहरूको नेतृत्व गर्नेहरूले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ,”उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसके, स्वतःफुर्तः काम गर्नसके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।