फैँलदै विद्युतीय गाडीको सञ्जाल, चाडपर्वमा चार्जिङ स्टेशन विस्तारकाे तयारीमा व्यवसायी


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीको आयात र माग दुबै बढ्दै गएको छ । केही वर्षअघि सम्म पेट्रोलियम सवारी साधनको रजगज हुने नेपाली सडकमा आजको दिनमा विद्युतीय सवारी साधनको एकछत्र हुने क्रम बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०८०\८१ मा ११ हजार ७ सय वटा विद्युतीय गाडी (कार, भ्यान, जिप) आयात भएका छन् । यो हालसम्मकै उच्च आयात हो ।

नेपालमा सरकारले विदेशी मुद्रा सञ्चितिमा भार परेको भन्दै २०७९ वैशाख १३ गतेदेखि पुस १ गतेसम्म (आठ महिना) पेट्रोलबाट चल्ने जिप, कार, भ्यान र १५० सीसीभन्दा माथिका दुईपङ्ग्रे सवारी साधनको आयातमा प्रतिबन्ध लगाएकाे थियाे । सरकारले आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीलाई भने कुनै किसिमको प्रतिबन्ध भने लगाएको थिएन । यससँगै नेपालमा विद्युतीय गाडीको आयात तीव्र गतिमा बढ्यो र आम नागरिकको आर्कषण पनि बढ्दै गएकाे हाे।

गाडीकाे संख्या तिब्र बढे पनि चार्जिङ स्थलकाे सर्वसुलभता नभएकाले विद्युतीय गाडी सहर केन्द्रीत हुनु पर्ने बाध्यता देखिएकाे हाे। विद्युतीय सवारीको माग र आयात दुबै बढेपनि आवश्यक पूर्वधार क्षेत्रमा ध्यान नदिँदा गत वर्ष दसैँ र तिहारसमेतका चाडपर्वमा विद्युतीय सवारीले लिएर सहरबाट गाउँ जाने उपभोक्ताका लागि चार्जिङ स्टेशनको अभाव देखियाे। जसका कारण उपभोक्ताले गत वर्ष निकै सास्ती भाग्न परेको भिडियोहरूले सामाजिक सञ्जाल तताएको थियो ।

यस वर्ष पनि नेपालीहरुको महान चाडपर्व दसौं, तिहार र छठ पर्वको नजिक आएको छ । जसका लागि अधिकांश विद्युतीय सवारी प्रयोगकर्ताहरू चाडपर्व मनाउका लागि सहरबाट गाउँ जाने लर्को केही समय देखि सुरू हुन्छ । प्रयाप्त चार्जिङ स्टेशनकाे तयारीकाे हालकाे अवस्था हेर्दा भने यो वर्षसमेत चार्जिङ स्टेसनमा लामै लाइन लाग्ने अवस्था आउन सक्छ।

सवारी बिक्रेता कम्पनी गतवर्षको दसैँमा यात्रुले भोगेको केही कठीनाइलाई सम्बोधन गर्ने गरी यो वर्षको दसैँलक्षित चार्जिङ स्टेसन विस्तारमा लागिरहेकाे बताएका छन् । नेपाली बजारमा टाटा, बीवाईडी, एमजी, दिपल, किया, हुन्डाई, स्काइवेल, आयोन, जस्ता विद्युतीय सवारीको रजगज बढी छ, यी कम्पनीहरूको सवारी साधन बिक्री बढ्दै गएको छ। यससँगै कम्पनीहरूले चार्जिङ नेटवर्कलाई बढाएका हुन् ।

सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी निर्देशक एंव नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अघिल्लो पटकको चाडपर्वमा आफूहरूले त्यो किसिम्मको समस्या हुन्छ भन्ने नसोचेको र उक्त समस्याले राम्रो अध्ययन गर्ने मौका दिएको बताए । उनले यसपटक टाटाका उपभोक्तालाई त्यस्तो खालको समस्या नआउने बताउँदै कम्पनीले प्रभावकारी बनाउनको लागि गाडीको आवतजावत बढी हुने ठाउँमा बढी चार्जर थपेर सुविधा दिन तयार रहेको दाबी गरे ।

उनले भने, “प्राय हामीले हाम्रो चार्जरहरूको प्रयोगलाई हेरेका हुन्छौँ । सामान्य दिनहरूमा हाम्रा चार्जिङ स्टेशनहरूमा ३८ प्रतिशतभन्दा बढी चर्जिङ भएको देखिएन् । त्यसले गर्दा हामीले दशैँमा पनि १०० प्रतिशतभन्दा बढी नहोला भन्ने भयो तर त्यसमा हामीले समस्या भोग्नु पर्‍यो। त्यो समस्यालाई मध्यनजर गरेर अहिले थप प्रभावकारी बनाएका छौँ ।”

उनले यसपटक चार्जिङ स्टेशनलाई प्रभावकारी बनाउन एउटा स्टेशनबाट १५ वटाले गर्नेमा ३२ वटाले गर्ने मिलाउने तरिकाले काम गरेको दाबी गरे ।

चार्जिङ् स्टेशनमा कम्पनीहरूको अवस्था

विद्युतीय सवारी आयातको संख्या सयबाट हजार पुगे पनि त्यसका लागि आवश्यक चार्जिङ स्टेसन सयमै सीमित छन् । नेपाल विद्युत् प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवालीले प्राधिकरणले देशभर ६१ वटा चार्जिङ स्टेसन निर्माण गरेको बताए ।

विद्युतीय सवारी बिक्रीकर्ता स्वयंले भने देशभर आफूहरूलाई पुग्ने चार्जिङ स्टेसनहरूको निर्माण भएको दाबी गर्दै आएका छन् । यसका अतिरिक्त केही होटलले पनि विद्युतीय सवारी चार्जिङ स्टेसन राखेका छन् । निजी सवारीलाई अहिले चार्जिङ स्टेसन पुग्दो देखिए पनि सार्वजनिक सवारीका लागि न्यून रहेका छन् ।

नेपालमा आईसी इन्जिनका सवारी साधनलाई इन्धन आपूर्ति गर्न पर्याप्त संख्यामा पेट्रोल पम्पहरू उपलब्ध छन्। तर, विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा, यस्ता सवारीसाधनलाई ‘पेट्रोल पम्प’ जस्तै चार्जिङ स्टेशनहरू आवश्यक पर्छ । यद्यपि चार्जिङ पूर्वाधारको विकास पर्याप्त हुन बाँकी नै भए पनि, हाल यसको संख्यामा उल्लेखनीय बृद्धि भइरहेको छ ।

टाटाका विद्युतीय कार बिक्री गर्दै आएको सिप्रदीले नेपालमा सबैभन्दा धेरै चार्जिङ स्टेसन निर्माण गरेको छ। हालसम्म कम्पनीले २६ वटा डीसी फास्ट र १ सय ४० वटा एसी फास्ट चार्जर पनि निर्माण गरेर सञ्चालन गरेको छ । बीवाईडी गाडीका लागि आधिकारी बिक्रेत साइमेक्स इंकले देशका विभिन्न स्थानमा ३३ वटा डीसी फास्ट चार्जर र ३१ वटा एसी चार्जर पनि सञ्चालनम ल्याइसकेको छ ।

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले डीसी र एसी गरेर अहिले २३ वटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । एमएडब्लू समूहले बिक्री गर्ने विभिन्न ब्रान्डका लागि कम्पनीले चार्जिङ स्टेसन निर्माण गरेको छ । यो समूहले हालसम्म देशभर ५० स्थानमा ४० र ६० किलोवाटका चार्जर जडान गरिसकेको छ । एमएडब्लू समूह अन्तर्गत दिपल, सेरेस, नामीलगात कार ब्रान्ड र फोटोन र सोकोन ब्रान्डको विद्युतीय भ्यान बिक्री गर्दै आएको छ ।

नेपाली बजारमा विद्युतीय कार बिक्री गर्ने अन्य ब्रान्डहरूले पनि चार्जिङ स्टेसन बनाउन लागि परेका छन्। त्यसैले आगामी दिनमा विद्युतीय कारको चार्जिङ स्टेसनको संख्या बढ्दै जाने देखिएकाे छ। विद्युत प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक ज्ञवालीले सात वर्ष पहिला विद्युत प्राधिकरणमा चार्जिङ स्टेशनको विषयमा कसरी बनाउने भन्नेमा कुनै ज्ञान नभएको र अहिले विद्युत प्राधिकरणले आम नागरिकको माग अनुसार प्रयाप्त मात्रा पुर्याउन सकेको बताए ।

उनले अहिले होटलमा चार्जिङ स्टेशनहरू राखेर आम नागरिकलाई सहज बनाए पनि चार्जरबारे आम उपभोक्तालाई प्राप्त ज्ञान नभएको बताए । ज्ञवालीले अघिल्लो दसैँमा उपभोक्ताले केही समस्या भोग्नु परेको बताउँदै अहिलेको दसैँअघि विभिन्न काम गरेर धेरै चार्जरहरू अनलाइन प्रणालीमा ल्याउने बताए ।

चाडपर्वमा लामो इभीमा यात्रा गर्दा के गर्ने?

चाडपर्व नजिकिदैँ गर्दा विद्युतीय सवारीसाधन लिएर लामो यात्रा गर्दा चालकले धेरै विषयमा ध्यान दिन जरुरी हुन्छ । दसाैँमा धेरै मानिसले उपत्यका बाहिर यात्रा गर्ने भएको कारण विद्युतीय कार लिएर यात्रा गर्ने चालकले सार्वजनिक स्थलमा रहेका चार्जिङ स्टेशनको विषयमा अध्ययन गरेर मात्रा निस्किनुपर्छ ।

विद्युतीय सवारीमा ब्याट्रीलाई स्लो चार्जिङ, फास्ट चार्जिङ र -यापिड चार्जिङ गरी तीन तरिकाले चार्ज गर्न सकिन्छ । विद्युतीय गाडी प्रयोगकर्ताहरूले सकेसम्म स्लो चार्जिङ गर्ने प्रयास गर्नुपर्छ । -यापिड चार्ज गर्दा ब्याट्री तात्तिनेदेखि ब्याट्रीको आयु कम हुँदै जान्छ ।

लामो यात्रा गर्दा विद्युतीय गाडी चार्ज गर्दा धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । पूर्ण रूपमा चार्ज गर्दा लाग्ने समय सवारीपिच्छे फरक हुन्छ । यो सवारी अनुसार चार्जर र ब्याट्रीमा निर्भर हुन्छ ।

निसान लिफ ३० किलोवाट आवरलाई ७ किलोवाटको चार्जरबाट पुरा चार्ज हुन चार घन्टा लाग्छ । टेस्लाको सुपरचार्जरले भने ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । घरमै राखिने चार्जरले एक घन्टा चार्ज गर्दा १५ देखि ३० माइल यात्रा गर्न सकिन्छ तर फास्ट चार्जरको प्रयोग गर्दा गाडीको ब्याट्री छिट्टै बिग्रने सम्भावना रहेको हुन्छ ।

सामान्यतया ६० किलोवाट आवर ब्याट्री क्षमता सहितको एउटा विद्युतीय कारले ७ किलोवाटको चार्जिङ पोइन्टको साथ पूर्णरूपमा चार्ज हुन आठ घण्टाभन्दा कम समय लाग्छ । धेरै विद्युतीय कारहरूको लागि ५० किलोवाट द्रुत चार्जरको प्रयोग गरी ३५ मिनेटसम्ममा पूर्णरूपमा चार्ज गर्न सकिन्छ ।

विगतमा, केही थोरै विद्युतीय गाडी हुँदा पनि चार्जिङ केन्द्रहरूमा लामो लाइन लाग्ने गर्थ्यो। अहिले विद्युतीय गाडीहरू मुख्य प्रवाहमा आएका छन्, जसले चार्जिङमा अझै बढी चुनौतीहरू ल्याउने सम्भावना छ।

यस चुनौतीलाई सम्बोधन गर्न केही उपायहरू छन्। तपाईं दशैंको समयमा विद्युतीय गाडी लिएर यात्रा गर्दै हुनुहुन्छ भने घरबाट गाडीलाई पूर्ण रूपमा चार्ज गरेर निस्कनु राम्रो हुन्छ।

यसले तपाईंलाई प्रारम्भिक यात्रामा चार्जिङ खोज्नुपर्ने चिन्ताबाट मुक्ति दिन्छ। साथै, ३ किलोवाटको एसी चार्जर साथमा लिएर निस्कनु पनि उपयोगी हुन्छ। घरबाहिर चार्जिङ स्टेशनमा लाइन भएमा आफ्नो चार्जर प्रयोग गरेर गाडी चार्ज गर्न सक्नुहुन्छ।