जीबी राईसहित १७ जनाविरुद्ध चितवनमा सहकारी रकम अपचलनको मुद्दा


काठमाडौँ। सहारा चितवन सहकारीको पैसा अपचलन गरेको अभियोगमा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्षसमेत रहेका गीतेन्द्रबाबु (जीबी) राईसहित १७ जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएको भन्दै ४४६ जना बचतकर्ताले गरेको उजुरीका आधारमा प्रहरीकोे अनुसन्धानपश्चात् जिल्ला सरकारी वकिलको कार्यालय, चितवनले मुद्दा दर्ता गरेको हो ।

सहकारीबाट गोर्खा मिडियामा समेत रकम अपचलन भए पनि प्रहरीले हद म्यादका कारण त्यसबारे अनुसन्धान नगरी मुद्दा अगाडि बढाएको हो । चितवन सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कको खातामा ४७ करोड रुपैयाँ जम्मा भएको भन्दै यसबारे थप अनुसन्धान गरी पूरक अभियोग पेश गर्नसमेत जिल्ला सरकारी वकिलको कार्यालयले राय दिएको छ ।

सरकारी वकिलको कार्यालयले दर्ता गरेको मुद्दामा सहकारीका संस्थापक अध्यक्ष राई, अध्यक्ष सागर केसी, सञ्चालकहरू भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु, व्यवस्थापक दीपा न्यौपाने, लेखापाल शिवप्रसाद आचार्य, कर्जा अधिकृत तीर्थराज लामिछाने, टाँडी सेवाकेन्द्र प्रमुख हेमन्त अधिकारी र पर्सा सेवाकेन्द्र प्रमुख मनोज गुरुङलाई प्रतिवादी बनाइएको छ । यस्तै मुद्दामा कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई पनि प्रतिवादी बनाइएको छ ।