आगामी तीन दिनको विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल तयारी अवस्थामा, देशभरका युनिट उच्च शतर्कतामा


काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने जानकारी गराएसँगै सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

मौसम विज्ञान विभागले आगामी तीन दिन(शुक्रवार, शनिवार र आईतवार) भारी वर्षा हुने भन्दै सूचना जारी गरेको छ । ५६ वटा जिल्लामा वषावको रेड अर्लड जारी गर्दै सचेत रहन आग्रह समेत गरेको छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल तयारी अवस्थामा बसेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन महाशाखाका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले आफूहरू विपद्का कारण आइपर्ने घटनाहरुको व्यवस्थापनका लागि स्रोत, साधनसहित तयारी अवस्थामा रहेको बताए। उनले सशस्त्र प्रहरीको देशभर रहेका कार्यालयहरूलाई आगामी तीन दिन उच्च शतर्कता अपनाउन सूचना जारी गरिसकेको बताए ।उनले सशस्त्र प्रहरीका सबै युनिटहरु स्रोत, साधनसहित उच्च शतर्कताका साथ बसिरहेको जानकारी दिए।

उनले १३ वटा हेवी इक्युपमेण्टलाई तयारी अवस्थामा राखिएको बताए । त्यसैगरी बाढी, पहिरो र डुबानबाट बिस्थापित हुनेहरुका लागि अस्थायी क्याम्प खडा गर्न २८ वटा कन्टेनरहरुलाई पनि तयारी अवस्थामा राखिएको उनको भनाई छ । उनले सशस्त्र प्रहरी बल नेपाल मनसुन शुरु हुनु अघिदेखि नै विपद् प्रतिकार्यका लागि तयारी अवस्थमा रहेको बताए ।

उनले मनसुनलाई केन्द्रित गरेर ११० जना तालिमप्राप्त गोताखोरलाई सबै प्रदेशमा गरी १० स्थानमा केन्द्रित गरेर राखिएको जानकारी दिनुभयो । त्यसैगरी डुबान र बाढीलाई मध्यनजर गरि ३९ वटा जिल्लाका ५९ सशस्त्र प्रहरी बलको कार्यालयहरूमा १२३ वटा मोटरबोट र रेस्क्यु ¥याफ्टलाई तयारी अवस्था राखिएको बताए ।

विपद् व्यवस्थापनका लागि सबै निकायहरूको उत्तिकै भुमिका हुने भन्दै सिंहले त्यसको लागि सशस्त्र प्रहरीले आवश्यक सबै निकायहरुसँग समन्वय गर्ने बताए । सबै क्षेत्रमा आवश्यक समन्वयका लागि सञ्चार तालिम प्राप्त ९१ जना जनशक्ति परिचालन भइरहेको उनको भनाइ छ । 

सशस्त्र प्रहरी बल नेपालले आगामी तीन दिन अत्यावश्यक कामभन्दा बाहेक सडक यातायातको प्रयोग नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्भावित विपद्को जोखिम रहेको स्थान भए नजिकैको सशस्त्र प्रहरी बललाई जानकारी गराउनका लागि आग्रह समेत गरिएको छ ।